बाढी-पीडितका लागि सहायता पठाउँदै अस्ट्रेलिया: सी-१७ ए विमान राहत र जनशक्ति बोकेर नेपाल उड्ने तयारीमा
काठमाडाैं । गत भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि अस्ट्रेलिया सरकारले पनि सहायता सामग्री र जनशक्ति नेपाल पठाउने तयारी गरेकाे छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुकमा विभिन्न तस्बिरहरू सार्वजनिक गर्दै सहायता नेपालतर्फ प्रस्थान गर्न तयार रहेको जानकारी दिएका हुन् ।
अस्ट्रेलियाली वायुसेनाको सी-१७ ए विमान मानवीय सहायता सामग्री, आवश्यक उपकरण र प्राविधिक जनशक्ति बोकेर नेपालका लागि उड्न तयारी अवस्थामा रहेकाे उनले बताए।
उक्त सहायता बाढीका कारण अति प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले पठाउन लागिएको हो।
यसैगरी, बाढी र पहिरोपछि अझैसम्म बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकहरूप्रति पनि उहाँले चिन्ता व्यक्त गरेका छन् ।बेपत्ता नागरिकका परिवार र आफन्तहरूप्रति सद्भाव प्रकट गर्दै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलियाली सरकारको ध्यान उनीहरूसँगै रहेको उल्लेख गरे ।
अस्ट्रेलियाले नेपाल सरकारसँग निरन्तर सहकार्य गर्दै सबैभन्दा बढी आवश्यकता परेका स्थानहरूमा आवश्यक सहयोग पुर्याउन प्रतिवद्ध रहेको समेत जनाएको छ।











