शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं। हालसालै भोटेकोशी नदी क्षेत्रमा गएको भिषण बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले उल्लेखित रकम आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरू पशुपति खाद्य तेल उद्योग प्रालिका तर्फबाट ६१ लाख रुपैयाँ, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिका तर्फबाट १५ लाख रुपैयाँ, प्रिमियर वायर्स प्रालिका तर्फबाट १५ लाख रुपैयाँ र प्रिमियर डिस्टिलरी लिमिटेडका तर्फबाट १० लाख रुपैयाँ प्रदान गरिएकाे हाे ।
साथै, ग्रुपले तत्कालीन राहत तथा मानवीय सहयोगका कार्यक्रमहरू समेत अघि बढाएको छ। शारदा ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ। ग्रुपले गुडलाईफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ।
त्यसैगरी, प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ।
काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम
विपद् बाट घाइते भएका व्यक्तिहरूका लागि आवश्यक रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ। यसबाट रक्त बैंक तथा जारी उद्धार र राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शारदा ग्रुपको राहत पहलका विषयमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडाले भने, “यस दुःखद घटनामा परी आफ्ना परिवार तथा आफन्त गुमाउनुभएका सबैजनाप्रति गहिरो समवेदना ब्यक्त गर्दछौ । यस कठिन समयमा प्रभावितहरूसँग उभिनु हाम्रो जिम्मेवारी पनि हो। हाम्रो सहयोग र तत्कालीन राहत प्रयासमार्फत आवश्यकतामा रहेका समुदायलाई सहयोग पुर्याउनुका साथै सरकारका राहत, उद्धार तथा पुनर्निर्माण प्रयासमा योगदान पुर्याउने हाम्रो उद्देश्य हो।”
शारदा ग्रुपले विपद् बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा निरन्तर खटिनुभएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
ग्रुपले आगामी दिनमा आवश्यकता अनुसार राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।










