त्रिशुली पारीका बस्ती सडक सञ्जालमा जोडिए, सदरमुकामसँगको ‘सम्बन्धविच्छेद’ अन्त्य !
त्रिशुली नदीका पुल क्षतिग्रस्त भई यातायातविहीन बनेको नुवाकोटको त्रिशुली पारीको भूभाग वैकल्पिक सडक सञ्चालनमा आएपछि पुनः सदरमुकामसँग जोडिएको छ।
काठमाडाैँ । गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने उद्देश्यले नयाँ सडक मार्ग सुचारु गरिएको छ।
यसअघि नदीमा रहेका पुलहरूमा बाढीपहिराे वा अन्य कारणले क्षति पुग्दा त्यस क्षेत्रका बासिन्दाहरू सदरमुकाम आवतजावत गर्नबाट वञ्चित भएका थिए। स्थानीय जनताको दैनिक जनजीवन सहज बनाउने र रोकिएको यातायातलाई सुचारु गर्ने दिशामा सरकारले यो महत्वपूर्ण कदम चालेको हो।
सञ्चालनमा आएको नयाँ सडक मार्गले त्रिशुली पुल पारीको भूभागलाई प्रभावकारी रूपमा समेटेको छ। त्रिशुली नदीको दायाँ किनारलाई आधार बनाएर तयार पारिएको यो मार्ग कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै सीधा त्रिशुली बजारसम्म जोडिएको छ।
यस वैकल्पिक मार्गको निर्माण र सञ्चालनले गर्दा भौगोलिक रूपमा असहज महसुस गरिरहेका यस क्षेत्रका बासिन्दाहरूलाई ठूलो राहत मिलेको छ।
सडक सञ्जालको पुनःस्थापनासँगै नुवाकोटका धेरै नागरिकको सदरमुकामसँगको टुट्न लागेको सडक पहुँच पुनः स्थापित भएको छ।

यातायातको सुगमता नहुँदा यसअघि प्रभावित बनेका क्षेत्रहरूमा अब उद्धार कार्य, राहत वितरण तथा अत्यावश्यक उपभोग्य सामग्रीको आवतजावतमा समेत प्रत्यक्ष सहजता हुने विश्वास लिइएको छ। यस मार्गले स्थानीय उत्पादनहरूलाई बजारसम्म पुर्याउन पनि सजिलो बनाउनेछ।
तर याे बाटाे त्यति सहज भने छैन । ढुङ्गेबाट त्रिशूली अर्थात् वारीबाट पारी पुग्नका लागि याे रूटबाट घण्टाैँकाे यात्रा गर्नुपर्ने अवस्था बनेकाे छ ।
याे रूटबाट यात्रा गर्न ढुङ्गे वा विदुरबाट पिपलटारहुँदै ककनी जाने बाटाे भएर तादीपुल, बेलकाेटगढी, धमलेहुँदै देउराली निस्किएर दुइपिपलकाे बाटाे काेल्पुटार झर्नुपर्छ । त्यसपछि धादिङ गल्छीबाट बैरेनीकाे पुल तरेर त्रिशुली नदीकाे पारीबाट फेरी उत्तर-पश्चिम फर्कनुपर्छ ।
त्यहाँबाट फाेस्रेटार, तारूकाघाट, दर्शनटार, शिर्काली, बुिनबेशी, मुल्थलाहुँदै अजिङ्गरेकाे पुल तरेपछि मध्येपहाडी लाेकमार्गकाे बाटाे भेटिन्छ । त्यहाँबाट फर्किएर पूर्व लागेपछि बल्ल त्रिशुली काेलाेनी पुगिन्छ, जुन पुरानाे त्रिशुली बजारकाे माथिकाे भाग हाे ।











