१६ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म



काठमाडौं । भोटेकोशीलगायतका नदी बेसिनमा आएको बाढीबाट ९ सयभन्दा बढी नागरिकको ज्यान गएको छ भने करिब ४ हजार बेपत्ता छन् । बाढीबाट बचेकाहरुको पनि घरबारविहीन छन् । उनीहरुको अवस्था निकै कष्टकर छ ।

यस्तो अवस्थाबीच गोल्याण ग्रुप अन्तर्गतको समाजसेवी संस्था गोल्याण फाउण्डेशन बाढीको भोलिपल्ट भदौ ११ देखि नै प्रभावित क्षेत्रमा खटिएको छ । फाउण्डेशनले बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा भोजन, स्वास्थ्य उपचार, मनोपरामर्शलगायत सेवा दिइरहेको छ ।

होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका समेत गरि दैनिक करिब ४ सय जनालाई होल्डिङ सेन्टरमा खाना–खाजा (तीनपटक) प्रवन्ध गरिएको छ । भोजनका अतिरिक्त सामान्य स्वास्थ्य सेवा र बालमनोपरामर्श सेवा प्रदान गरिएको छ । ग्रुपले गोल्याण फाउण्डेशनमार्फत उक्त कार्यको लागि ५० जना स्वयंसेवी तथा कर्मचारी र मनोपरामर्शकर्ता परिचालन गरेको छ ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी समूह खटिएको छ । होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिकासमेत रहेका छन् । उनीहरुको लागि खेल सामग्रीका साथै बालमनोपरामर्शको काम पनि भइरहेको सिईओ गैह्रेले बताइन् । ‘कत्ति पनि ढिलो नगरीकन गोल्याण फाउण्डेशनको स्वयंसेवी समूह बाढीको भोलिपल्टै प्रभावित क्षेत्रमा पुगेर तत्काल खानपिनको व्यवस्था ग¥यो,’ उनले भनिन् ।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिको बेला प्रभावित नागरिकलाई साथ र सहयोग दिनुपर्छ भन्ने मान्यताका साथ बाढी गएको दिनमै राहत तथा सहयोग योजना बनाइएको बताए । ‘यस्तो बेला प्रभावित क्षेत्रमै पुगेर सहयेग गर्नुपर्छ भन्ने हिसाबले हामीले नुवाकोटको विदुरमा गएर तत्कालीक राहत तथा सहयोग कार्य ग¥यौं,’ उनले भने, ‘अवस्था सामान्य नभएसम्म हाम्रो सहयोग जारी रहन्छ । नेपाल सरकार र सरकारी निकायसँग समन्वय गरेर राहत तथा सहयोग कार्य अझ प्रभावकारी बनाइनेछ ।’

गोल्याण ग्रुपले प्रभावित क्षेत्रमा पुगेर तत्कालीक राहतका साथै ‍प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले सोमबार बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो । कम्पनीले सुनसरीको दुहबी र खनारस्थित उद्योगबाट धागो उत्पादन गर्दै आएको छ । प्राकृतिक विपत्तिको बेला नागरिक र सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।