१६ भदौ २०८३, मंगलबार

प्रकाेप प्रभावित क्षेत्रका बैंकले शाखा स्थानान्तरण गर्न पूर्वस्वीकृति लिनु नपर्ने



काठमाडाैँ । रसुवा र नुवाकाेटमा प्रकाेपका कारण शाखा कार्यालयहरू गुमाएका बैंक तथा वित्तीय संस्थाले तत्कालै शाखा स्थानान्तरणा गरेर त्यहाँका नागरिकलाइ सेवा दिन चाहेमा केन्द्रीय बैंककाे स्वीकृति लिनु नपर्ने भएकाे छ । यस्ता बैंक तथा वित्तीय संस्थाले तत्कालै नजिककाे उपयुक्त र सुरक्षित स्थानमा शाखा सञ्चालन गर्न चाहेमा उनीहरूलाइ खुल्ला गरिएकाे राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले बताए ।

“टिमुरेमा त अहिले तत्कालै शाखा सञ्चालन गर्ने अवस्था देखिएकाे छैन । त्रिशुली, बेत्रावतीका शाखाहरू भने पुनःस्थापित गर्न सकिने अवस्था छ”, उनले भने, “हामीले बैंकहरूसँग के कस्ता सहजिकरण गर्न सकिन्छ भनेर नियमित छलफल गरिरहेका छाैँ । हामी हरसम्भव सहजिकरणका लागि तयार छाैँ ।”

राष्ट्र बैंकले १३ गते नै सूचना प्रकाशित गरेर ‘प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न यस बैंक प्रयत्नशील रहेको’ भनेकाे थियाे । उक्त क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न र विद्युतीय माध्यम लगायत वैकल्पिक स्थानबाट सेवा स्वत:स्फूर्त रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरिएको केन्द्रीय बैंकले बताएकाे छ ।

साथै, प्राकृतिक विपद्का कारण प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोतको परिचालन गर्न राष्ट्र बैंकले प्रोत्साहन गरेको पनि उक्त सूचनामा उल्लेख छ ।

प्रकाेप प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाकाे गरी १७ वटा शाखाहरू पूर्णरूपमा क्षति भएकाे र २७ जना कर्मचारी बेपत्ता भएकाे डेपुटी गभर्नर रावलले जानकारी दिए । “याे स्तरकाे मानवीय क्षति त अपुरणीय नै भइहाल्याे, तर काराेबारका हिसाबले ज्यादै ठूलाे र जाेखिमपूर्ण नहुने देखिएकाे छ” उनले थपे, “हामीले प्रभावित क्षेत्रका बैंकका प्रमुख कार्यकारीहरूसँग छलफल गरिसकेका छाैँ । ज्यादातर जाेखिम बीमाले नै थेग्ने हुनाले वित्तीय क्षति भने कमैमात्र हुने प्रारम्भिक अनुमान छ ।”

उनले प्रकाेप पीडित क्षेत्रका बासिन्दालाइ बैंकिङ सेवा दिने सन्दर्भमा पनि सबै किसिमका संभाव्य सहयाेग र सहजिकरण गरिने बताए ।