घरबार र परिवार गुमाएकाहरूले बैंकमा राखेकाे पैसा कसरी निकाल्ने ? यस्ताे भन्छ राष्ट्र बैंक
काठमाडाैँ । भाेटेकाेशी (त्रिशूली) नदीकाे विनासकारी भेलले घरबार विहिन बनेका नागरिकले आफ्ना व्यक्तिगत कागजातहरूसमेत गुमाएपछि बैंकिङ काराेबार गर्न सकस परेकाे छ । नागरिकका व्यक्तिगत प्रमाणपत्रहरू नास भएपछि यस्ताे संकट देखिएकाे हाे । कयाैँ बैंकका शाखा नै बगाइदिएका कारण याे समस्या झन् ठूलाे बनेकाे छ ।
बाढीका कारण व्यक्तिगत कागजात (चेक, मोबाइल समेत) गुमाएका व्यक्तिहरुले बैंकमा मौज्दात रहेको रकम निकाल्न समस्या भोगिरहेको गुनासा आएका छन् । जसले गर्दा घरबास गुमाएका मानिसहरु सामान किनेर खान पनि नसक्ने अवस्था आएको छ ।
कतिपयको परिवारका सदस्यहरु मृत वा बेपत्ता छन् । उनीहरुको परिवारमा खाताको रकम हस्तान्तरण हुन कठीन हुँदा मानवीव संकट झनै बढेको पीडतहरूकाे गुनासाे छ । त्यसैले बाढीबाट जाेगिएका व्यक्तिकाे हकमा पनि परिवारकाे पैसा निकालेर जीवन धान्ने संभावना कमजाेर बनेकाे उनीहरूकाे गुनासाे छ ।
यस्तै समस्या भाेग्ने एक जना हुन्, नुवाकाेट बेत्रावतीका लक्ष्मण डंगाेल । उनकाे परिवारका सदस्य र नातागाेतासहित ७० जनाभन्दा धेरै मृत वा बेपत्ता छन् । घरबास सबै गुमेकाे छ । तर भागेर बाँच्न सफल भएका केही व्यक्तिलाइ समेत नयाँ ठाउँमा बसाेबासकाे व्यवस्था गरिदिन उनलाइ कठीन परेकाे छ ।
यसकाे एउटै कारण हाे- बेत्रावतीकाे एनआइसी एसिया बैंकमा खाता खाेलेर पैसा राखेकाे डंगाेल परिवारले अहिले त्याे पैसा निकाल्नै सकेकाे छैन । परिवारका सबै जनाकाे नागरिकतासहितका सबै कगज-प्रमाण भेलले बगाएर नष्ट गरिदिएपछि आफैँले पहिले बचत गरेकाे पैसा समेत निकालेर चलाउन नपाउने अवस्था देखिएकाे छ ।
यसाेहुँदा संकटकाे समयमा पनि बचत उपयाेग गरेर जीवन धान्न कठीन परेकाे उनकाे गुनासाे छ । यस्ता गुनासा गर्ने परिवारहरूकाे संख्या ठूलाे छ ।
यस्ताे समस्यालाई हल गर्ने सन्दर्भमा राष्ट्र बैंकले के कस्तो कदम चाल्दै छ त ? केन्द्रीय बैंककी सूचना अधिकारी सुधा श्रेष्ठले यस्ता समस्याहरू समाधानमा राष्ट्र बैंक तत्पर रहेकाे बताएकी छिन् । “अहिले डिजिटल जमाना छ । यस्ताेमा बैंकहरूले कागजात नभए पनि हस्ताक्षर प्रमाणिकरण, बायाेमेट्रिक प्रमाणिकरण जस्ता विधी अपनाएर भुक्तानी दिन सक्छन्”, उनले भनिन् “यदी त्यसरी पनि प्रमाणिकरण हुन सकेन भने चाहीँ के गर्ने भन्ने विषयमा राष्ट्र बैंककले विभिन्न पक्षसँग छलफल गरिरहेकाे छ । छिट्टै स्पष्ट खाका आउला ।”
यस्ताे अवस्थामा चाहीँ प्रहरी प्रतिवेदन वा स्थानीय सरकारकाे (वडाकाे) नाता प्रमाणिकरण वा यस्तै विधिबाट समाधान निकाल्न सकिन्छ की भनेर राष्ट्र बैंकले छलफल गरिरहेकाे श्रेष्ठले जानकारी दिइन् ।
राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले पनि आफूले पैसा राखेका बैंकका अन्य शाखाबाट निश्चित प्रमाणिकरणकाे प्रकृया अपनाएर रकम निकाल्न सकिने अवस्था रहेकाे बताए । उनले भने, “हामी खाली एउटै कुरामा सचेत छाैँ- एक जनाकाे सम्पत्ती अर्कै व्यक्तिले निकालेर खान नसकाेस् । यतिकुरा प्रमाणित हुन सक्याे भने हामी जुनसुकै तरिकाले पनि सहजिकरण गरेर खातावाला वा हकदारलाइ बैंकमा राखेकाे पैसा निकाल्ने सुविधा दिन तयार छाैँ ।”










