सडक डिभिजन कार्यालय हेटौंडाले मापदण्डविपरीत क्षेत्रीय कार्यालय भवन भत्काएको भन्दै टेलिकमकाे आपत्ति
काठमाडाैं । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालय भवन भत्काएपछि दुई सरकारी निकायबीच विवाद चुलिएको छ। उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा एकपक्षीय रूपमा भवन भत्काइएको भन्दै नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ।
अन्तरदेशीय सञ्चार सम्बन्ध जोड्ने संवेदनशील उपकरणहरू रहेको उक्त भवन भत्काउँदा अत्यावश्यक सेवामा गम्भीर असर पर्ने टेलिकमको भनाइ छ। अदालतले गत भदौ ४ गते संरचना यथास्थितिमा राख्न स्पष्ट पारेको र कम्पनी आफैंले मापदण्ड अनुसार संरचना हटाउने प्रतिबद्धता जनाउँदा-जनाउँदै पनि भवन भत्काइएको कम्पनीले बताएको छ।
साथै, सडक डिभिजनले आफ्नै पूर्व घोषणा (२५ मिटर मापदण्ड) विपरित बढी भाग भत्काएको र अझै थप भत्काउन खोजेको टेलिकमको आरोप छ। सार्वजनिक र संवेदनशील सम्पत्तिमा पुगेको क्षतिको जिम्मेवारी सडक डिभिजनले नै लिनुपर्ने टेलिकमले स्पष्ट पारेको छ।










