१७ भदौ २०८३, बुधबार

भोटेकोसी बाढीको क्षति : बीमा दाबी २५ अर्ब ८७ करोड नाघ्यो, कुन कम्पनीको कति ?



काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल बीमा प्राधिकरणमा भदौ १५ गतेसम्मको प्राप्त विवरणअनुसार बाढीका कारण विभिन्न बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो।

प्राधिकरणका अनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्। ती बीमालेखअन्तर्गत परेको प्रारम्भिक दाबीमध्ये ठूलो रकम इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमासँग सम्बन्धित रहेको छ।

कम्पनीगत विवरणमा सबैभन्दा धेरै दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। उक्त कम्पनीमा ८ वटा बीमालेखबाट मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो।

त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

यस्तै, शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै अर्थात् १२७ वटा बीमालेखबाट दाबी परेको छ। ती बीमालेखबाट कम्पनीमा १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँ र नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ बीमालेखबाट १८ करोड ७३ लाख ४ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्समा २१ बीमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ बीमालेखबाट ३ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ बीमालेखबाट ७६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा २ बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

नेपाल माइक्रो इन्स्योरेन्समा भने एउटा बीमालेखबाट मात्रै ५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

इन्जिनियरिङ तथा ठेकेदार जोखिममा मात्रै २० अर्ब बढी दाबी

बीमाको प्रकारअनुसार हेर्दा बाढीबाट सबैभन्दा ठूलो आर्थिक क्षति इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत देखिएको छ। यस क्षेत्रमा ५२ वटा बीमालेखबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

यसले कुल प्रारम्भिक बीमा दाबीको ठूलो हिस्सा निर्माण, पूर्वाधार तथा ठेकेदारसँग सम्बन्धित जोखिममा रहेको देखाएको छ। त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ वटा बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको दाबी परेको छ।

मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै ३१३ वटा बीमालेख प्रभावित भएका छन्। ती बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। परिवहन बीमातर्फ ४७ वटा बीमालेखबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

त्यसैगरी, अन्य बीमा शीर्षकमा ५४ वटा बीमालेखबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

प्राधिकरणमा हालसम्म प्राप्त विवरण प्रारम्भिक दाबीमा आधारित भएकाले क्षतिको विस्तृत मूल्यांकन तथा बीमा दाबीको परीक्षणपछि वास्तविक दाबी रकम र भुक्तानी हुने रकममा परिवर्तन हुन सक्नेछ।

बाढीबाट प्रभावित बीमितको क्षतिको मूल्यांकन र दाबी फर्छ्योटको प्रक्रिया अघि बढ्दै जाँदा बीमा कम्पनीहरूमा परेको दाबीको वास्तविक अवस्था थप स्पष्ट हुने छ।

थप विवरण :