१७ भदौ २०८३, बुधबार

बाढी पीडितका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १० लाख सहयोग



काठमाडौं । रसुवामा बाढी र पहिरोका कारण प्रभावित बनेका परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले १० लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ। एसोसिएसनका पदाधिकारी तथा सदस्यहरूको पहलमा संकलित उक्त रकम नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालाई हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको एसोसिएसनले विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग रकम जुटाएको जनाएको छ। विपद्को समयमा बाढीपहिरो प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले सहयोग गरिएको एसोसिएसनले जनाएको छ। एसोसिएसनले यो सहयोग कुनै व्यक्तिगत वा संस्थागत श्रेयका लागि नभई विपद्को समयमा नेपाली समाजप्रतिको साझा जिम्मेवारी र मानवीय दायित्वका रूपमा गरिएको स्पष्ट पारेको छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै एसोसिएसनले विपद्को समयमा सबै पक्षलाई मानवीय सेवामा जुट्न आग्रह गरेको छ।