१७ भदौ २०८३, बुधबार

नामी बक्सकाे मूल्य ३ लाख २६ हजार सस्ताे, हटाइयो एडास तर थपिए आधुनिक फिचर



काठमाडाैँ । नेपाली विद्युतीय सवारीसाधनको बजारमा उपभोक्ताले अत्यधिक रुचाएको डोङफेङ नामी बक्स ईभीको मूल्य उल्लेख्य मात्रामा घटेको छ। नेपाली बजारमा भित्रिएको छोटो समयमै बलियो पकड जमाउन सफल यो ह्याचब्याक ईभीको ठूलो ब्याट्री भेरियन्टको मूल्यमा ३ लाख २६ हजार रुपैयाँले कमी आएको हो।

आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले मूल्य समायोजनसँगै गाडीमा केही नयाँ सुविधाहरु जोडेको छ भने केही कम प्रयोग हुने विशेषताहरु हटाएको छ।

नाडा अटो शो २०२६ को समयमा बजारमा सार्वजनिक हुँदा यसको ठूलो ब्याट्री भेरियन्टको मूल्य ३६ लाख २५ हजार रुपैयाँ तोकिएको थियो। अब भने यो मोडल ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने भएको छ। यसका साथै कम्पनीले हाल दुवै भेरियन्टमा थप १ लाख रुपैयाँसम्मको नगद छुटको योजना पनि ल्याएको छ।

यसले गर्दा पछिल्लो समय थपिंदै गएका प्रतिस्पर्धीहरुबीच नामी बक्सले आफ्नो पुरानो बजार हिस्सा र क्रेज पुनः हासिल गर्ने अनुमान गरिएको छ।

मूल्य घटाइए पनि गाडीमा सुरक्षा र प्रविधिका हिसाबले महत्त्वपूर्ण सुधारहरु गरिएका छन्। २०२६ को नयाँ मोडलमा उपभोक्ताको उच्च प्राथमिकतालाई मध्यनजर गर्दै एयरब्यागको सङ्ख्या बढाइएको छ। यसअघि बजारमा उपलब्ध मोडलमा दुईवटा मात्र एयरब्याग रहेकामा नयाँ संस्करणमा ६ वटा एयरब्यागहरु राखिएको छ, जसले गाडीको सुरक्षा प्रणालीलाई निकै बलियो बनाएको छ।

त्यस्तै, डिजिटल अनुभवलाई निखार्न इन्फोटेनमेन्ट सिस्टममा डार्क मोडका साथै इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा थपिएको छ। यी फिचरहरुले विशेष गरी पछिल्लो पुस्ताका चालकहरुलाई आकर्षित गर्ने देखिन्छ।

कुन-कुन विशेषता हटाइए ?

उत्पादन लागत घटाएर मूल्यलाई प्रतिस्पर्धी बनाउन केही विलासी र कम प्रयोग हुने फिचरहरु भने हटाइएका छन्। अघिल्लो संस्करणमा पाइने अटो पार्किङ, एम्बियन्ट लाइटिङ र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम अर्थात् एडास जस्ता विशेषताहरु नयाँ मोडलमा राखिएको छैन।

नेपाली सडकको यथार्थ अवस्था र उपभोक्ताको वास्तविक आवश्यकतालाई विश्लेषण गरेरै यी फिचरहरु हटाइएको बिक्रेता कम्पनीको भनाइ छ।

सुरुवाती दिनमा ७० किलोवाटको मोटरमा आएको यो ईभी अहिले ५० किलोवाट क्षमताको मोटरमा बिक्री हुँदै आएको छ। यसमा ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्।

सानो ब्याट्रीले डब्लूएलटीपी मापदण्ड अनुसार २३७ किलोमिटर र ठूलो ब्याट्रीले ३१७ किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ। मूल्य समायोजनको यो नयाँ रणनीतिले तीस लाखको सेग्मेन्टमा राम्रो रेन्ज र भरपर्दो सुरक्षा खोज्ने उपभोक्ताका लागि नामी बक्स कतिको आकर्षक बन्नेछ, त्यो भने आगामी केही महिनाको बजार बिक्रीले प्रष्ट पार्नेछ।