होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न अमेरिकी राष्ट्रपतिको प्रस्ताव
काठमाडौँ। इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ट्रुथ सोसलमार्फत होर्मुज स्ट्रेटलाई ‘ट्रम्प स्ट्रेट’ नामकरण गर्न सकिने सुझाव दिएका हुन्। उनले उक्त क्षेत्र अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै नाम परिवर्तनबारे व्यंग्यात्मक शैलीमा धारणा व्यक्त गरे ।
ट्रम्पले लेखेका छन्, ‘होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि ? अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी ‘हट’ हुनेछ।’
होर्मुज स्ट्रेटमा तेल ट्यांकरमाथि आक्रमण
यसैबीच, होर्मुज स्ट्रेट आसपासको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। साउदी अरबको एक शिपिङ कम्पनीले बुधबार आफ्नो तेल ट्यांकरलाई लक्षित गरी भएको आक्रमणमा फिलिपिन्सका दुई जना नाविकको मृत्यु भएको जानकारी दिएको छ।
ग्रीसस्थित समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान होर्मुज स्ट्रेटमा अज्ञात विमानबाट दुईवटा तेल ट्यांकरलाई निशाना बनाइएको थियो।
होर्मुज स्ट्रेट विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा परिचित छ। यहाँ हुने कुनै पनि सुरक्षा संकटले अन्तर्राष्ट्रिय तेल बजार तथा समुद्री व्यापारमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पछिल्लो घटनाले थप चिन्ता बढाएको छ।
अमेरिकाद्वारा इरानमाथि दबाब बढाउने संकेत
यसैबीच, बीबीसी फारसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजसँगको कुराकानीमा इरानबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेका छन्।
बेसन्टले इरानसँग जारी संघर्ष अन्त्य गर्ने सबैभन्दा छिटो बाटो इरानी शासनलाई कुनै पनि प्रकारको समर्थन उपलब्ध नगराउनु रहेको बताएका छन्। उनको भनाइले अमेरिकाले इरानमाथि राजनीतिक तथा आर्थिक दबाबलाई निरन्तरता दिने संकेत गरेको छ।
‘नयाँ रणनीति’ सामना गर्नुपर्ने इरानको चेतावनी
अमेरिकी पक्षबाट यस्तो धारणा सार्वजनिक भइरहेका बेला इरानले पनि कडा प्रतिक्रिया दिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले अब नयाँ रणनीतिक परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उनका अनुसार इरानले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीका क्षेत्रमा नयाँ रणनीति अपनाउनेछ।
रेजाईले इरानको नयाँ रणनीतिले अमेरिकाको आधार कमजोर बनाउने दाबीसमेत गरेका छन्।
मंगलबार राति अमेरिकी सेनाले इरानका पश्चिमी, दक्षिणपश्चिमी र दक्षिणी प्रान्तका साथै तटीय क्षेत्रमा आक्रमण गरेको विवरण सार्वजनिक भएको छ। होर्मुज स्ट्रेटको पूर्वी क्षेत्रमा समेत अमेरिकी सैन्य कारबाही भएको बताइएको छ।
इरानमा विवाह समारोहमा आक्रमण : ४ जनाको मृत्यु, ६८ घाइते
मंगलबार राति अमेरिकी सेनाले इरानका पश्चिमी, दक्षिणपश्चिमी र दक्षिणी प्रान्तका साथै तटीय क्षेत्रमा आक्रमण गरेको विवरण सार्वजनिक भएको छ। होर्मुज स्ट्रेटको पूर्वी क्षेत्रमा समेत अमेरिकी सैन्य कारबाही भएको बताइएको छ।
इरानी अधिकारीहरूका अनुसार होर्मुज क्षेत्रको कोहस्ताक सहरमा भएको एक आक्रमणमा विवाह समारोहमा सहभागी चार जनाको मृत्यु भएको छ। घटनामा ६८ जना घाइते भएको इरानी पक्षले जनाएको छ।
घटनापछि इरानले अमेरिकी सैन्य कारबाहीको कडा विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले कोहस्ताकमा भएको आक्रमणलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन्।
इरान र अमेरिकाबीचको तनावसँगै होर्मुज स्ट्रेटको सुरक्षा अवस्था अहिले अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। विश्वको ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने यो जलमार्गमा सैन्य गतिविधि थप बढेमा त्यसको असर क्षेत्रीय सुरक्षादेखि विश्वव्यापी ऊर्जा बजारसम्म पर्न सक्ने चिन्ता बढेको छ।










