प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको तलबबाट ८ लाख ५३ हजार १८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
उक्त सहयोगले विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा उनीहरूको पुनर्स्थापनामा सरकारले सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ। कम्पनीका प्रमुख संचालन अधिकृत राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षामा मात्र सीमित नरहेको बताउँदै समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु पनि संस्थागत दायित्वको अभिन्न हिस्सा भएको उल्लेख गरे।
कम्पनीले आगामी दिनमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा प्रभावित समुदायको राहत तथा पुनर्स्थापनासंग सम्बन्धित पहलहरूमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।










