१८ भदौ २०८३, बिहिबार

प्रधानसेनापति सिग्देल स्वयं स्थलगत अनुगमनमा, सुरुङभित्रको उद्धार कार्यबारे चासाे व्यक्त



सुरुङभित्र भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सबै निकायबीच समन्वय बढाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्।

काठमाडाैँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल रसुवा र नुवाकोटको सिमानामा पर्ने सुरुङ क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको प्रत्यक्ष अनुगमनका लागि त्यसतर्फ पुगेका छन्।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देलले आज बिपदग्रस्त क्षेत्रमा पुगेर उद्धारको हालसम्मको अवस्थाबारे जानकारी लिएका हुन्।

घटनास्थलको निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले सुरुङभित्र सञ्चालन भइरहेका उद्धार गतिविधि तथा आसपासका क्षेत्रहरूको गहिरिएर अवलोकन गरेका छन्।

सो अवसरमा उनले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र सम्बन्धित निकायहरूलाई आपसी समन्वय अझै प्रभावकारी बनाउन आग्रह गरे। अप्ठ्यारो परिस्थितिमा धैर्य र उच्च मनोबलका साथ खोज तथा उद्धारलाई निष्कर्षमा पुर्‍याउन उनको विशेष जोड थियो।

घटनास्थलमा उपस्थित अधिकारीहरूलाई निर्देशन दिँदै प्रधानसेनापति सिग्देलले कुनै पनि किसिमको कमजोरी हुन नदिन सचेत गराए। उद्धार कार्यलाई द्रुत गतिमा अगाडि बढाउन तीन तहका सरकार र सम्बन्धित सबै निकायबीच सुदृढ सहकार्य अपरिहार्य रहेको उनले औंल्याए।

सेनाले उद्धारमा आइपर्ने बाधा अड्चन हटाउन जुनसुकै बेला सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उनले प्रभावित क्षेत्रमा राहत र सुरक्षाको पाटोलाई पनि समान रूपमा ध्यान दिन निर्देशन दिएका छन्।