१८ भदौ २०८३, बिहिबार

नेपाली बजारमा विद्युतीय कारको बाढी, साउन महिनामै भित्रिए ६७५ युनिट ईभी



विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणका बीच चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै नेपाली बजारमा ६०० भन्दा बढी नयाँ युनिट कार भित्रिएका छन्।

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै विभिन्न २३ वटा अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ युनिट विद्युतीय कार नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आधा दर्जनभन्दा बढी नयाँ ब्राण्ड नेपाली बजारमा भित्रिएका हुन्।

अटोमोवाइल्स व्यवसायीहरूले नाइमा मोबिलिटी र नाडा अटो शोको पूर्वसन्ध्यालाई लक्षित गर्दै नयाँ मोडल तथा ब्राण्डहरू आयात गरेका हुन्। साउन महिनामा सामान्य सहर केन्द्रित मिनी कारदेखि लिएर अत्याधुनिक प्रिमियम एसयूभीसम्मको आयात उच्च देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात गरिएका कुल ईभीमध्ये दुईवटा मात्रै ब्राण्डले १०० युनिटभन्दा बढीको संख्या पार गरेका छन्।

आधिकारिक बिक्रेता साइमेक्स इंकमार्फत भित्रिएको चिनियाँ ब्राण्ड बीवाइडीले साउनमा सबैभन्दा बढी २१९ युनिट कार नेपाल ल्याएको छ। यसमा विशेषगरी एटो टु मोडलको हिस्सा सर्वाधिक २११ युनिट रहेको छ भने डेन्जा, एटो वान र एटो थ्री पनि भित्रिएका छन्।

त्यसैगरी, सिप्रदी ट्रेडिङमार्फत आयात भएको टाटा ब्राण्डले १६४ युनिट ईभी भित्र्याउँदै बजारको दोस्रो स्थान ओगटेको छ जसमा पन्च र टियागोको हिस्सा बलियो छ।

शीर्ष दुई ब्राण्ड बाहेक अन्य कम्पनीहरूले पनि आक्रामक रूपमा ईभी भित्र्याएका छन्। जगदम्बा मोटर्सले प्रोटोनका इमास मोडलसहित ६९ युनिट ईभी नेपाल ल्याएको छ भने एसपीजी अटोमोबाइल्सले जेको र ओमाडाका गरी ९० युनिटभन्दा बढी गाडी भित्र्याएको छ।

यसैगरी, पारामाउन्ट मोटर्सले एमजी र वुलिङ ब्राण्डका ५६ युनिट सवारीसाधन भित्र्याउँदा एमएडब्लू वृद्धि, जीओ अटोमोबाइल्स, लक्ष्मी मोटरहब र भीजी इम्पेक्स लगायतका कम्पनीले पनि विभिन्न नयाँ मोडलका ईभीहरू बजारमा भित्र्याएका छन्।