२० भदौ २०८३, शनिबार

पाँचौँ पटक राहत लिएर रसुवा पुग्यो रोअर मोभमेन्टको टोली



बाढी तथा पहिरोबाट अत्यन्त प्रभावित रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रोअर मोभमेन्टको टोली पाँचौँ पटक राहत सामग्रीसहित पुगेको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले टोली आवश्यक राहत तथा स्वास्थ्य सामग्री बोकेर रसुवा पुगेको हो।

टोलीले प्रभावित नागरिकका लागि स्वास्थ्य सामग्री, प्याड, पञ्जा, स्यानिटाइजर, नयाँ कपडा लगायतका सामग्री उपलब्ध गराएको छ। त्यस्तै, चामल, चिउरा, बिस्कुट, चाउचाउ लगायतका खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक अन्य सामग्री पनि राहतका रूपमा लगिएको जनाइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा राहत सामग्री जिम्मा लगाइएको छ। राहत सामग्री वास्तविक बाढीपीडित नागरिकसम्म प्रभावकारी रूपमा पुग्न सकोस् भन्ने उद्देश्यले स्थानीय तहसँग समन्वय गरेर सामग्री हस्तान्तरण गरिएको रोअर मोभमेन्टको टोलीले जनाएको छ।

बाढीले गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार विभिन्न वडामा गरी करिब ३७५ जना बेपत्ता वा मृत्यु भएको हुनसक्ने प्रारम्भिक विवरण प्राप्त भएको छ। यद्यपि, वडा नम्बर ५ को तथ्याङ्क आउन बाँकी रहेकाले क्षतिको वास्तविक संख्या अझै यकिन हुन बाँकी रहेको जनाइएको छ।

प्राकृतिक विपत्तिका कारण धेरै परिवार विस्थापित भएका छन् भने कतिपय नागरिकले आफ्ना आफन्त गुमाएका छन्। यस्तो कठिन अवस्थामा राहत सामग्री लिएर प्रभावित क्षेत्रमै पुग्नु र स्थानीय तहसँग समन्वय गर्दै वास्तविक पीडितसम्म सहयोग पुर्‍याउनु महत्वपूर्ण मानिएको छ।