एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
काठमाडौं । एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. १ करोड ३५ लाख सहयोग गरेका छन्।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको बताइएकाे छ।
एफवानसफ्ट ग्रुप हालै आएको बाढीका कारण प्रभावित भएका व्यक्ति, परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै फोनपे र इसेवा मार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकाे छ।
हालसम्म इसेवाका १ लाख २९ हजार १३ प्रयोगकर्ताले रु. ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले रु. २ अर्ब १९ करोड सहयोग गरेका छन्। फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ।
भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्ट मार्फत १९ हजार ८ सय ५८ प्रयोगकर्ताले रु. ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २ हजार ९ सय ६५ प्रयोगकर्ताले रु. १ करोड ६३ लाख सहयोग गरेका छन्।
संस्थाले बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।












