बाढी पीडितलाई हतोत्साहित हुने गतिविधि नगर्न प्रधानमन्त्री शाहको आग्रह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति अपमानजनक व्यवहार गर्ने वा अनावश्यक टिप्पणीमार्फत उनीहरूको पीडा थप बढाउने व्यक्तिमाथि कडा कदम चालिने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्पछिको खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको जानकारी दिएका हुन्। उनले संकटको यस्तो संवेदनशील समयमा बाढीपीडितलाई थप मानसिक पीडा हुने गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्।
आफन्त गुमाएका वा उनीहरूको अवस्था अज्ञात रहेका नागरिकमा देखिएको आक्रोशलाई अस्वाभाविक रूपमा लिन नहुने उनको भनाइ छ। उनले अचानक ठूलो क्षति बेहोरेका मानिसहरूको आक्रोशलाई उनीहरूले भोगिरहेको गहिरो पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले सरकारले प्रभावित नागरिकका गुनासा र असन्तुष्टिलाई धैर्यपूर्वक सुन्ने तथा सम्भव भएसम्म समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले बाढी प्रभावित नागरिकलाई हिम्मत नहार्न र सरकारप्रति विश्वास कायम राख्न आग्रह गरेका छन्। नागरिकलाई राष्ट्रको आधार तथा सरकारका लागि मार्गदर्शक शक्ति भन्दै उनले विपद्को समयमा सरकारलाई आफ्नै परिवारको सदस्य सरह सम्झेर आवश्यक सुझाव, सहयोग र मार्गदर्शन दिन समेत आह्वान गरेका छन्।












