२१ भदौ २०८३, आइतबार

अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्याङ्कर ध्वस्त, स्ट्रेट अफ हर्मुजमा चुलियाे ढुवानी युद्ध



काठमाडाैं । अमेरिकी सेनाले तीनवटा कच्चा तेल बोकेका इरानी ट्याङ्करहरूमा आक्रमण गरी ध्वस्त बनाएको छ।

इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले दुईवटा अमेरिकी नौसेनाका युद्धपोतहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सेनाले शनिबार ती इरानी तेल ट्याङ्करहरूमाथि भीषण आक्रमण गरेको हो। भिडियो फुटेजहरूमा ती ट्याङ्करहरूमा भीषण आगो लागेको र धुवाँको मुस्लो उठिरहेको प्रष्ट देख्न सकिन्छ।

यसले फारसकाे खाडी र त्यस आसपासका क्षेत्रमा ढुवानी युद्ध चुलिने खतरा बढेको छ। इरानले आफ्नो अनुमतिबिना स्ट्रेट अफ हर्मुजबाट हुने जहाजहरूको आवतजावत रोक्न खोजिरहेको छ भने अमेरिकाले इरानी ढुवानीमाथि आक्रमण तीव्र पारिरहेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार जारी गरेको विज्ञप्ति अनुसार, एउटा अमेरिकी विमानवाहक पोत र गाइडेड-मिसाइल विध्वंसकले इरानका धेरैजसो उक्साहटपूर्ण आक्रमणहरू सफलतापूर्वक छलेका छन्।

त्यसको बदलामा अमेरिकी सेनाले खार्ग टापुको तट नजिकै रहेको आईआरजीसीको कच्चा तेलको ट्याङ्कर ‘एम-टी डाउनी’ र जास्क नजिकै रहेको ‘एम-टी स्टार्क १’ मा आक्रमण गरी स्थायी रूपमा निष्क्रिय पारेको छ।

त्यसैगरी, फारसकाे खाडी बाहिर ‘एम-टी काइलो’ नामक खाली कच्चा तेलको ट्याङ्करलाई पनि धेरै पटक प्रहार गरेर पूर्ण रूपमा नष्ट गरिएको छ। सेन्टकमका अनुसार यी जहाजहरू बहु-अर्ब डलरको सेडो नेटवर्कको हिस्सा हुन्, जसले आईआरजीसी र यसका क्षेत्रीय सहयोगीहरूलाई आर्थिक सहयोग गर्दै आएका छन्।

इरान र अमेरिकाबीचको यो द्वन्द्वले विश्वव्यापी तेल आपूर्तिमा अति महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर गम्भीर संकट उत्पन्न गराएको छ।