बाढीपछि मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
काठमाडौं । गोरखाको चुमनुव्री क्षेत्रमा आएको बाढीका कारण पदमार्ग तथा पूर्वाधारमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनले आइतबार सूचना जारी गर्दै पदयात्राको तयारीमा रहेका तथा हाल यात्रामा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा नजान अनुरोध गरेको हो।
आइतबार बिहान करिब ३ः३० बजे चुमनुव्री गाउँपालिका–४ अन्तर्गत नामरुङको थेराङ खोलामा आएको बाढीले आसपासका क्षेत्रमा क्षति पुर्याएको प्रशासनले जनाएको छ। बाढीका कारण पदमार्गसँगै होटल तथा जलविद्युत आयोजनामा समेत असर परेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “थेराङ खोलामा बाढी आई चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुलसमेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न र नगराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।”













