२२ भदौ २०८३, सोमबार

विस्थापितका लागि नुवाकोटमा पानी शुद्धीकरण प्रणाली जडान, बाढीपीडितको घाउमा मल्हम लगाउँदै एनआरएनए



काठमाडाैँ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको मानवीय सहयोग अभियान ११औँ दिन पनि जारी रह्यो। विपद् प्रभावित क्षेत्रको जनजीवन सहज बनाउन संघले राहत वितरणसँगै स्वास्थ्य, सरसफाइ र सुरक्षित खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

अभियानको प्रगति समीक्षा तथा आगामी योजना तय गर्न अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रणनीतिक बैठक सम्पन्न भयो। बैठकले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी नुवाकोटका विभिन्न भागमा राहत सामग्री पुर्‍याउने निर्णय गर्यो।

गोसाइँकुण्ड गाउँपालिकाका जनप्रतिनिधिको अनुरोधमा राहत पठाउने, संघका सदस्य तथा स्वयंसेवकलाई परिचालन गर्ने र रसुवा-भोटेकोसी क्षेत्रका लागि कोष संकलन अभियानलाई निरन्तरता दिने निर्णय भयो।

साथै, वर्तमान तथा पूर्वपदाधिकारीसँग सहयोगका लागि अनुरोध गर्ने र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य विस्तार गरेर दोस्रो चरणमा स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका काम अघि बढाउने तय भयो।

बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानीको संकट टार्न नुवाकोटका ६ वटा होल्डिङ सेन्टर र विद्यालयमा पानी शुद्धीकरण प्रणाली जडान गर्न थालियो। एनआरएनएको समन्वय र ‘प्रोटेक्टिङ हेल्थ अफ माइग्रेंट्स, इम्रिगन्ट्स एन्ड रिफ्युजी’ (पीएचओएमआयआर) को सहकार्यमा यो अभियान अघि बढाइयो।

आइसिसी सदस्य तथा पूर्वग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटा र अमेरिकामा रहेकी चिकित्सक डा. संगीता शर्माको संयोजनमा आर्थिक सहयोग जुटाएर यी उपकरण उपलब्ध गराइयो। उपकरणहरू पहिला विदुर नगरपालिकालाई बुझाइयो र नगरपालिकाको समन्वयमा राहत केन्द्रहरूमा जडान गरियो।

बाढीले पुल बगाएपछि आवतजावत कठिन भएका कारण त्रिशूली नदीपारि रोपवे (तुइन) मार्फत पनि उपकरणहरू ढुवानी गरियो।

यससँगै नुवाकोटको होल्डिङ सेन्टरमा बसिरहेका पीडितका लागि स्वास्थ्य शिविर सञ्चालन गरियो। प्रभावितको स्वास्थ्य जाँच गरी औषधि तथा परामर्श दिने उद्देश्यले राखिएको यो शिविरको नेतृत्व डा. सञ्जीव सापकोटाले गरे। शिविरमा ४० जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श प्रदान गरियो।

बाढीका कारण रसुवाको उत्तरगया र नुवाकोटको बेत्रावती–विदुरमा एकै परिवारका सात जनासहित १८ जनाको ज्यान गएको थियो। सोही घटनापछि महिला उपाध्यक्ष राधिका गुरुङ र महासचिव डा. चिरञ्जीवीले काठमाडौंको धुम्बाराही–शिवस्थलीस्थित किरियापुत्री भवन पुगेर मृतकका परिवारलाई भेटे। उनीहरूले किरियामा बसेका परिवारको अवस्था बुझ्दै राहत अभियानमार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता बताए।