युद्ध लड्ने खर्च जुटाउन युक्रेनमा ‘पाेर्नाेग्राफी’ व्यवसाय वैध बनाइँदै, कर लगाउने तयारी
युद्धको महँगो खर्च धान्न युक्रेनले आफ्नो सामाजिक अस्मिताको बाजी लगाइरहेको यो एक दर्दनाक र विडम्बनापूर्ण यथार्थ हो।
काठमाडाैँ । रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो थलिएको अर्थतन्त्र उकास्न र युद्धकोष (युद्धकाे खर्च) जुटाउन यौन व्यवसाय तथा पोर्नोग्राफीलाई वैधानिकता दिने विषयमा विचार गरिरहेको छ।
हाल युक्रेनमा अश्लील सामग्रीको उत्पादन, स्वामित्व वा वितरण गर्नु गैरकानूनी मानिन्छ । यसका लागि सात वर्षसम्मको जेल सजाय हुने कडा कानुन छ। यसरी प्रतिबन्धित भए पनि देशको वयस्क मनोरञ्जन उद्योग भने भ्रष्टाचारमा लिप्त प्रहरी प्रशासनको मिलेमतोमा मौलाउँदै आएको बताइन्छ।
यसैबीच, युक्रेनी अधिकारीहरूले वयस्क सामग्री निर्माताहरूसँग कर तिर्न दबाब दिन थालेका छन्। तर, यस्तो कर तिर्न अग्रसर हुने कन्टेन्ट क्रियटरहरू आफैँ आपराधिक गतिविधिमा संलग्न रहेको स्वीकार गर्न बाध्य हुने विरोधाभासी अवस्था सिर्जना भएको छ।
संसद्को वित्त समितिका सभापति तथा सांसद यारस्लाभ जेलेज्नियाकले पोर्नोग्राफीलाई वैधानिक बनाएमा अर्थतन्त्र मजबुत हुनुका साथै युक्रेनको युद्धकोषमा करिब दुई करोड ५० लाख डलर जम्मा हुन सक्ने तर्क गर्दै आएका छन्। संसद्मा प्रस्तुत विधेयकमा यसै कुरालाई जोड दिइएको छ।
कानुनी विरोधाभास
रूसले युक्रेनमा पूर्ण रूपमा आक्रमण गर्नु अघिसम्म त्यहाँका अधिकारीहरूले वयस्क मनोरञ्जन उद्योगप्रति आँखा चिम्लिने गरेका थिए।
त्यहाँकाे महान्यायाधिवक्ताको कार्यालयका अनुसार पछिल्लो समय युक्रेनका तीनवटा क्षेत्रले मात्रै करिब २० हजार डलर घूस लिएको पाइएको छ। युद्ध सुरु भएको दुई वर्षपछि ‘अन्ली फ्यान्स’ को माउ कम्पनी फिनिक्स इन्टरनेसनलले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ मा मात्रै ७ हजार ९ सय युक्रेनीहरूले अन्ली फ्यान्सबाट १३ करोड १० लाख डलरभन्दा बढी कमाएका थिए।
यसरी आम्दानी गर्नेहरूले कर विवरण बुझाएपछि युक्रेनी राजधानी किएभकाे सरकारले उनीहरूलाई पत्र पठाउन थाल्यो, जसमा उनीहरूमाथि कर छली र अवैध रूपमा अश्लील सामग्री उत्पादन गरेको अभियोग लगाइएको थियो।
यस्तै मारमा परेकी स्भिट्लाना द्वोर्निकोभाले आफ्नो छोरीलाई विद्यालय पठाउन तयारी गर्दै गर्दा प्रहरीले २० हजार डलर नगद, ल्यापटप र हार्ड ड्राइभहरू जफत गरेको वाल स्ट्रिट जर्नलकाे हवाला दिँदै जेरूसेलम पाेस्टले लेखेकाे छ। प्रहरीसँग वेबक्याम मोडलहरूको सूची हुनुका साथै उनीहरूको ठेगाना पनि थाहा थियो।
अन्तरराष्ट्रीय समाचार संस्थाहरूका अनुसार अधिकारीहरूले मामिला गुपचुप राख्नका लागि आफूसँग घूस मागेको, तर आफूले अस्वीकार गरेको उनले खुलाइन्। अर्की एक महिलाले पनि प्रहरीले आफ्नो अपार्टमेन्टमा यस्तै शैलीमा खानतलासी गरेको बताइन्। पछि उनलाई अदालतको सुनुवाइमा बोलाइए पनि घूस तिर्न बाध्य पारिने डरले उनी उपस्थित भइनन्।
द्वोर्निकोभासहित युक्रेनका धेरै अन्ली फ्यान्स मोडलहरूले यस घटनापछि देश छाडेका छन् वा युरोपका अन्य देशमा गएर अस्थायी रूपमा बसोबास गर्न थालेका छन्।
वैधानिकताका लागि बढ्दो दबाब
एक सयभन्दा बढी अन्ली फ्यान्स मोडलको पैरवी गर्दै आएकी कर कानुन व्यवसायी लेसिया मिखालेंकोले यो कुनै पीडित नभएको अपराध भएको बताइन्। देशको रक्षामा ध्यान केन्द्रित गर्नुपर्ने बेलामा यस्ता विषयले कानुनी प्रणालीलाई अनावश्यक रूपमा भार थपेको उनको तर्क छ।
आफूविरुद्ध मुद्दा दायर भएपछि द्वोर्निकोभाले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वेबसाइटमा एउटा निवेदन दर्ता गराइन्। सो निवेदनमा आफूलाई कर तिर्ने नागरिकको रूपमा प्रस्तुत गर्दै सरकारले अपराधी ठान्नुको सट्टा अग्रपंक्तिमा मारिएका सयौँ युक्रेनीहरूको बराबर हुने गरी आफूले तिरेको करिब ९ लाख डलर करका लागि धन्यवाद दिनुपर्ने उल्लेख गरेकी थिइन्।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार उक्त निवेदनमा एक साताभित्रै २५ हजारभन्दा बढी हस्ताक्षर जम्मा भयो। त्यसपछि राष्ट्रपति जेलेन्स्कीले संसद्मा जेलेज्नियाकको पोर्न वैधानिक बनाउने कानुनमाथि विचार गर्न लगाउने घोषणा गरे।
सांसद जेलेज्नियाकको सहलेखनमा तयार भएको पोर्नोग्राफीलाई वैधानिक बनाउने विधेयकले गत जुलाईमा युक्रेनी संसद्को पहिलो चरणको मतदान पार गरिसकेको छ र अब यसले दोस्रो चरणको छलफलको सामना गर्दैछ।












