२२ भदौ २०८३, सोमबार

अमेजनको कार्गो विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु



काठमाडाैं । अमेरिकाको मियामी इन्टरनेसनल एयरपोर्टमा अमेजनको कार्गो विमान दुर्घटनाग्रस्त बन्दा कम्तीमा ५ जनाको ज्यान गएको छ।

विमान अवतरण गर्ने क्रममा धावनमार्ग (रनवे) पार गरी दुर्घटनामा परेकाे हाे । दुर्घटना स्थानिय समय अनुसार आइतबार दिउँसो करिब २ बजे भएको हाे ।

अमेजन प्राइम एयरको उडान नम्बर ७५९८ को उक्त विमान धावनमार्गबाट बाहिर निस्किएर जमिनमा गुडिरहेका धेरै सवारीसाधनहरूसँग ठोक्किएको थियो। दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाे बताइएकाे छ।  

विमानले ठक्कर दिएका गाडीहरूमा मानिसहरू च्यापिएका थिए भने विमानभित्रै पाइलट र को-पाइलट पनि फसेका थिए। हालसम्म दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुलाइएको छैन।

घटनालगत्तै उद्धारका लागि ६० भन्दा बढी अग्नि नियन्त्रक टोली र करिब २०० सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो। विमानबाट इन्धन चुहिरहेकोले सुरक्षाकर्मीहरूले जोखिमपूर्ण रूपमा उद्धार कार्य गरेका थिए। दुर्घटनापछि केही समयका लागि विमानस्थलका सबै उडानहरू रोकिए पनि आइतबार साँझसम्म चारमध्ये दुई वटा धावनमार्ग पुनः सञ्चालनमा ल्याइएको छ।

फ्लाईटराडर२४ का अनुसार पोर्टो रिकोको सान जुआनबाट उडेको उक्त विमान ३२ वर्ष पुरानो बोइङ ७६७-३०० फ्रेइटेर हो, जसलाई ‘२१ एयर’ नामक कार्गो कम्पनीले अमेजनका लागि सञ्चालन गर्दै आएको थियो।

अमेरिकी नागरिक उड्डयन दुर्घटनाहरूको छानबिन गर्ने राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।