२२ भदौ २०८३, सोमबार

बाढी प्रभावित तीन जिल्लाका बीमितलाई स्वास्थ्य बीमामा ठूलो राहत, सहभुक्तानी र क्यापिङ हट्यो



विपद्ले थलिएका रसुवा, नुवाकोट र धादिङका बीमितले अब स्वास्थ्य उपचारमा सहभुक्तानी तिर्नु नपर्ने र परिचयपत्र नभए पनि सहजै सेवा पाउने भएका छन् ।

काठमाडाैँ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकका लागि स्वास्थ्य बीमा बोर्डले उपचार प्रक्रियामा राहतको महत्वपूर्ण कदम चालेको छ । पछिल्लो प्राकृतिक विपद्ले आक्रान्त बनाएका यी क्षेत्रका बामितहरूलाई लक्षित गर्दै बोर्डले सेवा लिँदा लाग्ने सहभुक्तानी र सेवाको माथिल्लो सीमा पूर्ण रूपमा हटाउने निर्णय गरेको हो ।

यस व्यवस्थासँगै बिरामीले उपचारका क्रममा आफैँ बेहोर्नुपर्ने निश्चित रकमको झन्झटबाट मुक्ति पाएका छन् भने औषधोपचारको सीमा पनि अस्थायी रूपमा फुकुवा भएको छ ।

गत भदौ १० गते रसुवाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले जनजीवन अस्तव्यस्त बनाएपछि नेपाल सरकारले ती तीनवटै जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । सरकारको सोही घोषणाको मर्म र भावनाअनुरूप असहज परिस्थितिमा परेका नागरिकलाई निःसङ्कोच र सरल ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन बोर्डले यो कदम चालेको हो ।

आपत्कालीन अवस्थाको यो विशेष अवधिका लागि लागू हुने गरी गरिएको यस निर्णयले स्थानीय बिरामीलाई ठूलो आर्थिक भारबाट राहत दिने अपेक्षा गरिएको छ ।

परिचयपत्र हराए पनि उपचार हुने

बाढीको चपेटामा परेका धेरै नागरिकले आफ्नो स्वास्थ्य बीमा परिचयपत्रसमेत गुमाउनुपरेको यथार्थलाई मध्यनजर गर्दै बोर्डले वैकल्पिक व्यवस्था मिलाएको छ । परिचयपत्र नभएका वा बाढीले बगाएर हराएका बीमितहरूले अब सामान्य कागजी प्रक्रियाका लागि भौतारिनु नपर्ने भएको छ ।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई जडान गरिएको एकीकृत व्यवस्थापन सूचना प्रणालीको प्रयोगमार्फत सम्बन्धित व्यक्तिको बीमा नम्बर रुजु गरेर सुलभ ढङ्गले सेवा निरन्तर दिने प्रबन्ध मिलाइएको छ ।

बोर्डका प्रवक्ता डा. पवन कुमार शाहका अनुसार विपद्को यो घडीमा कुनै पनि नागरिकले कागजी झन्झट वा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्नेमा बोर्ड पूर्णतः संवेदनशील छ ।

प्रणालीमा उपलब्ध तथ्याङ्कका आधारमा नै बीमितको पहिचान खुल्ने भएपछि अब पीडितहरूले अस्पतालमा सहजै उपचार पाउन सक्नेछन् । सरकारको यस निर्णयले बाढी प्रभावित क्षेत्रका आम नागरिकको स्वास्थ्य सुरक्षामा भरपर्दो टेवा पुग्ने विश्वास लिइएको छ ।

यस्ताे छ स्वस्थ्य बीमा बाेर्डकाे पत्रः