२२ भदौ २०८३, सोमबार

मुक्तिनाथको छनोटमा परेपछि जानकी र सिन्धुको सेयर मूल्यमा किन आयो भारी गिरावट?



कमजोर वित्तीय सूचकका बाबजुद कृत्रिम रूपमा उचालिएका जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्य मुक्तिनाथ विकास बैंकसँगको प्राप्ति प्रक्रिया अगाडि बढेसँगै खस्किएर नकारात्मक सर्किट लाग्न पुगेको छ।

काठमाडाैँ । देशको एक अग्रणी वित्तीय संस्था मुक्तिनाथ विकास बैंकले दुई फरक वित्तीय संस्थाहरूलाई आफ्नोभित्र गाभ्ने (एक्विजिसन) प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएसँगै सेयर बजारमा त्यसको गम्भीर तरङ्ग देखिएको छ।

सोमबार मात्रै मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने उद्देश्यका साथ प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। यो समाचार बाहिरिनासाथ पुँजी बजारमा यी दुवै संस्थाका लगानीकर्ताहरू निराश बन्न पुगे। बजार खुल्नेबित्तिकै जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार बन्द हुँदासम्म जानकी फाइनान्सको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ भने सिन्धु विकास बैंकको मूल्य ठीक १५ प्रतिशतले ओरालो लागेको छ। यस तीव्र गिरावटसँगै सिन्धु विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ र जानकी फाइनान्सको ३१३ रुपैयाँमा सीमित हुन पुगेको छ।

कृत्रिम रूपमा बढेको मूल्य !

बजार विश्लेषकहरूको बुझाइमा यी दुवै संस्थाको वास्तविक वित्तीय अवस्था तुलनात्मक रूपमा कमजोर रहँदै आएको थियो। तर, कम्पनीहरूको सेयर पुँजी कम अर्थात् ‘लो क्याप’ भएका कारणले मात्रै बजारमा कृत्रिम किसिमले मूल्य उचालिएर आकाशिएको थियो।

जब कुनै ठूलो र सबल बैंकले कमजोर वित्तीय अवस्था भएका संस्थाहरूलाई प्राप्ति गर्दछ, तब स्वाप रेसियो अर्थात् सेयर आदानप्रदान अनुपात निकै कम हुने गर्दछ। मुक्तिनाथ विकास बैंकसँग गाभिन लागिपरेका यी दुई संस्थाको पनि सेयर साटफेर अनुपात न्यून हुने निश्चितप्रायः देखिएपछि लगानीकर्ताहरूमा सेयर बेच्नेको घुँइचो लाग्यो।

जसका कारण बजारले त्यसको तुरुन्तै नकारात्मक प्रतिक्रिया दियो र मूल्यमा भारी गिरावट आयो।

साेमबार नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीहरूमध्ये सिन्धु र जानकी पनि परेका छन्ः

मुक्तिनाथको सेयरमा पनि दबाब

दुई साना वित्तीय संस्थालाई आफ्नो मातहत ल्याउन प्रक्रिया अगाडि बढाइरहेको मुख्य वा प्राप्ति गर्ने संस्था मुक्तिनाथ विकास बैंकको सेयर बजारमा पनि यसको आंशिक असर देखिएको छ।

समाचार तयार पार्दाको समयसम्म मुक्तिनाथ विकास बैंकको सेयर मूल्यमा पनि २.३३ प्रतिशतले कमी आएको छ र बजारमा यसको अन्तिम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ कायम भएको छ।

वित्तीय क्षेत्रका जानकारहरूका अनुसार ठूला संस्थाले साना तथा कमजोर वित्तीय स्थिति भएका कम्पनीहरूलाई एक्वायर गर्दा सुरुवाती चरणमा लगानीकर्ताहरूबीच केही अन्योल र संशय सिर्जना हुने गर्दछ, जसको प्रत्यक्ष असर सेयर कित्ताको मूल्यमा देखिने गरेको छ।