तेलको विकल्प र शक्ति सन्तुलनमा फेरबदल: इरान युद्धपछि विश्व अर्थतन्त्रले समातेका तीन नयाँ माेड
काठमाडौं । करिब छ महिनादेखि जारी इरान-अमेरिका युद्धको असर अब अमेरिका र इरानको सीमाभन्दा धेरै पर पुगिसकेको छ।
इन्धनको मूल्यवृद्धि, बढ्दो महँगी, ढुवानी लागतमा भएको उछालदेखि विश्व व्यापारका प्रमुख समुद्री मार्गमाथि बढेको जोखिमसम्म यसको असर विश्वभरका अर्थतन्त्रले प्रत्यक्ष रूपमा महसुस गरिरहेका छन्।
अब दुईबीच युद्धविराम सम्झाैता नै भए पनि यसको आर्थिक असर भने तत्कालै पुरानै अवस्थामा फर्किने सम्भावना कम देखिन्छ। बरु, पछिल्ला छ महिनामा विकसित भएका केही प्रवृत्तिले विश्व अर्थतन्त्रको व्यापारिक ढाँचा, ऊर्जा सुरक्षाको रणनीति र तेल बजारको शक्ति सन्तुलनमै दीर्घकालीन परिवर्तन ल्याउने संकेत देखाएकाे अर्थशास्त्रीहरू बनाउँछन् ।
इरान युद्धले विश्व अर्थतन्त्रलाई ऊर्जा आपूर्ति र व्यापारिक मार्गमा अत्यधिक निर्भर रहँदाको जोखिम देखाइदिएको छ। अब देशहरू वैकल्पिक ऊर्जा स्रोत र व्यापारिक मार्गको खोजीमा लाग्नुपर्ने अवस्थामा पुगेका छन्।
हाे, यही कारण खाडी क्षेत्रका तेल उत्पादक मुलुकहरू स्ट्रेट अफ हर्मुजलाई छल्ने बाटो खोजिरहेका छन्। विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक स्ट्रेट अफ हर्मुजमा जहाजको आवागमन नाटकीय रूपमा घटेको छ। युद्धअघि दैनिक औसत करिब ८८ वटा जहाज आवतजावत गर्ने यो मार्गमा पछिल्लो समय दैनिक करिब १६ वटामा झरेको तथ्यांक सार्वजनिक भएको छ।
यसले तेल आपूर्तिमा ठूलो धक्का दिए पनि विश्व अर्थतन्त्रले अपेक्षा गरिएभन्दा बढी लचकता देखाएको छ। चीनको घट्दो तेल माग, रणनीतिक भण्डारको प्रयोग, मध्यपूर्वबाहिर बढेको तेल उत्पादन र वैकल्पिक निर्यात मार्गले आपूर्ति संकटलाई केही हदसम्म सम्हालेका छन्।
तर यही समायोजनले विश्व अर्थतन्त्रमा तीन ठूला र दीर्घकालीन परिवर्तनको आधार तयार गरेको छ।
हर्मुजको संकटले वैकल्पिक बाटोकाे खोजी
इरान युद्धको सबैभन्दा ठूलो आर्थिक धक्का विश्वको ऊर्जा आपूर्ति प्रणालीमा परेको छ। मध्यपूर्वबाट विश्व बजारमा जाने तेल र ग्यासको ठूलो हिस्सा स्ट्रेट अफ हर्मुज हुँदै ओसारपसार हुन्छ। युद्धअघि यो मार्गबाट दैनिक करिब २ करोड ब्यारेल बराबरको कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थ विश्व बजारमा पुग्थ्यो। अर्थात् विश्वको कुल तेल खपतको झन्डै पाँचौँ हिस्सा यही साँघुरो जलमार्गमा निर्भर थियो।
युद्ध सुरु भएपछि हर्मुजको आवागमनमा आएको अवरोधले विश्व ऊर्जा बजारमा ठूलो अनिश्चितता सिर्जना गर्यो। तेल आपूर्तिको ठूलो हिस्सा अचानक जोखिममा परेपछि बजारमा मूल्यवृद्धिको दबाब बढ्यो र ढुवानी तथा बीमा लागतसमेत उकालो लाग्यो।
तर विश्व अर्थतन्त्रले अपेक्षा गरिएभन्दा फरक प्रतिक्रिया दियो। खाडी मुलुकहरूले वैकल्पिक निर्यात मार्ग प्रयोग गर्न थाले, केही देशले उत्पादन बढाए र चीनजस्ता ठूला उपभोक्ताले तेलको माग घटाए। यसका कारण युद्धको सुरुआतमा देखिएको तीव्र मूल्यवृद्धि केही हदसम्म नियन्त्रणमा आयो।
यसले अब विश्व व्यापारका लागि अर्काे प्रश्न खडा गरेको छ- यदि एउटा मात्र समुद्री मार्गमा यति ठूलो निर्भरता जोखिमपूर्ण छ भने, भविष्यमा वैकल्पिक मार्ग र पूर्वाधार निर्माण कति आवश्यक हुन्छ ?
यही कारण खाडी क्षेत्रका तेल उत्पादक मुलुकहरू हर्मुजलाई छल्ने बाटो खोजिरहेका छन्। साउदी अरबले आफ्नो पूर्व–पश्चिम पाइपलाइन र लाल सागरमार्फत निर्यात बढाउने प्रयास गरेको छ भने इराकले भूमध्यसागरसम्म तेल पुर्याउने वैकल्पिक पाइपलाइनको सम्भावना खोजिरहेको छ।
अर्थात्, युद्धले तेलको मूल्य मात्र बढाएको छैन; विश्व ऊर्जा आपूर्ति प्रणालीको नक्सा नै पुनः कोर्ने प्रक्रिया सुरु गरेको छ।
यसको अर्को दीर्घकालीन असर अन्तर्राष्ट्रिय समुद्री व्यापारमा देखिन सक्छ। विश्वका प्रमुख समुद्री राष्ट्रहरूले हालै अन्तर्राष्ट्रिय ढुवानीका नियम र समुद्री मार्गको सुरक्षामाथि बढ्दो भू–राजनीतिक दबाबबारे चिन्ता व्यक्त गरेका छन्। हर्मुजजस्ता रणनीतिक जलमार्गको राजनीतिकरणले दशकौँदेखि विश्व व्यापारको आधार बनेको स्वतन्त्र र तुलनात्मक रूपमा सुरक्षित समुद्री आवागमनको अवधारणामाथि नै प्रश्न उठाएको छ।
यस अर्थमा हर्मुज संकट केवल तेलको संकट होइन। यो विश्व व्यापारको सुरक्षा र आपूर्ति शृंखलाको पुनर्संरचनाको सुरुआत पनि हो।
तेल बजारको शक्ति केन्द्रको रूपमा चीनको उदय
चीनले ठूलो परिमाणमा तेल उत्पादन नगरेपछि इरान युद्धका दौरान उसले विश्व तेल बजारको सबैभन्दा शक्तिशाली खेलाडीको रूपमा आफूलाई उभ्यायो।
चीनले युद्धअघि नै थुपारेको ठूलो इन्धनको भण्डारको बुद्धिमत्तापूर्ण प्रयोग गरेर आफ्नो कच्चा तेलको आयात दैनिक ५ लाख ब्यारेलसम्म घटाउन सफल भयो। आपूर्ति घटेको अवस्थामा सामान्यतया मूल्य तीव्र रूपमा बढ्नुपर्ने हो। तर चीनको घट्दो माग, रणनीतिक भण्डारको प्रयोग र अन्य उत्पादक मुलुकबाट बढेको आपूर्तिले बजारलाई केही हदसम्म सन्तुलित राख्यो।
यसबाहेक, चिनियाँ उपभोक्ताहरूको आनीबानीमा आएको स्थायी परिवर्तनले पनि ठूलो भूमिका खेल्यो। बिदाको समयमा चीनका हाइवेहरूमा विद्युतीय सवारी साधन चार्ज गर्ने क्रम ५५.६ प्रतिशतले वृद्धि भयो। त्यहाँका राजमार्गहरूमा गुड्ने कुल सवारी साधनमध्ये झन्डै एक चौथाइ विद्युतीय सवारी साधन थिए।
यसले विश्व अर्थतन्त्रलाई एउटा महत्वपूर्ण कुरा देखाएको छ-तेलको माग पहिले सोचिएजति कठोर र अपरिवर्तनीय छैन।
चीनमा विद्युतीय सवारीसाधनको तीव्र विस्तारले पनि यसको संकेत दिएको छ। युद्धका कारण तेल आपूर्तिमा दबाब बढ्दा चीनका उपभोक्ता र उद्योगले वैकल्पिक ऊर्जा तथा विद्युतीय यातायाततर्फको संक्रमणलाई अझ तीव्र बनाएका छन्।
चीनको तेल आयात घट्नुको केही हिस्सा रणनीतिक भण्डार प्रयोगका कारण अस्थायी हुन सक्छ। तर विद्युतीय सवारीको बढ्दो प्रयोग, ऊर्जा दक्षता र पेट्रोलियममा निर्भरता घटाउने नीतिहरू भने दीर्घकालीन हुन सक्छन्। यसले विश्व तेल बजारका लागि निकै ठूलो अर्थ राख्छ।
यदि चीनजस्तो विशाल अर्थतन्त्रले तेलको मागलाई स्थायी रूपमा केही घटाउन सफल भयो भने विश्वव्यापी तेल माग युद्धअघिको अनुमानभन्दा तल रहन सक्छ। त्यस अवस्थामा तेल उत्पादक देशहरूले पहिलेको जस्तो उच्च माग र उच्च मूल्यमा भर पर्न नसक्ने अवस्था आउन सक्छ।
अर्थात्, इरान युद्धले विश्वलाई केवल तेल कहाँबाट ल्याउने ? भन्ने प्रश्न मात्र सोधेको छैन। यसले अब विश्वलाई पहिले जति तेल आवश्यक पर्छ नै भन्ने ग्यारेन्टी कहाँ छ? भन्ने अर्को ठूलो प्रश्न पनि उठाएको छ।
चीनमा तेल आयात घट्नु र विद्युतीय यातायातको विस्तारले विश्व ऊर्जा संक्रमणलाई समेत गति दिन सक्ने संकेत देखिएका छन्। केही विश्लेषकले यसलाई विश्व तेल मागको चरम बिन्दु अर्थात् ‘पीक आयल’ नजिक पुग्ने सम्भावनासँग जोडेर हेर्न थालेका छन्।
त्यसैले युद्धले तेलको आपूर्ति मात्र होइन, तेलको मागकै भविष्यमा प्रश्नचिह्न खडा गरेको विश्लेषण भइरहेकाे छ।
मध्यपूर्व बाहिर तेल उत्पादनकाे तीव्र वृद्धिले फेरिँदै शक्ति सन्तुलन
इरान युद्धपछि विश्व तेल बजारमा देखिएको तेस्रो ठूलो परिवर्तन भनेको मध्यपूर्वबाहिरका उत्पादक मुलुकको बढ्दो भूमिका हो।
हर्मुजमा आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा तेलको कमी हुन नदिन अमेरिका, ब्राजिल, गुयाना, क्यानडा र नर्वेजस्ता मुलुकले उत्पादन बढाउन थालेका छन्। फलस्वरुप विश्वको तेल आपूर्ति भनेको मध्यपूर्वसँग मात्र जोडिएको विषय हो भन्ने धारणा अहिले परिवर्तन हुन थालेकाे छ।
अमेरिका, ब्राजिल र गुयानाजस्ता देशले अपेक्षाभन्दा तीव्र गतिमा उत्पादन विस्तार गरिरहेका छन्। विशेषगरी गुयानाको विशाल अपतटीय तेल भण्डारले आगामी वर्षहरूमा विश्व बजारमा उसको भूमिका अझ बढाउने अपेक्षा गरिएको छ।
विश्व बजारमा आपूर्ति संकट देखिएपछि नयाँ तेल परियोजनामा लगानी र पुराना परियोजनाको उत्पादन विस्तार दुवै तीव्र भएका छन्।
यसको दीर्घकालीन परिणाम भने निकै रोचक हुन सक्छ। यदि मध्यपूर्वबाहिरबाट पर्याप्त मात्रामा तेल उत्पादन हुन थाल्यो भने विश्व बजारको मध्यपूर्वमाथिको निर्भरता केही घट्न सक्छ। त्यसले भविष्यमा हर्मुजजस्ता एउटा मात्र समुद्री मार्गमा हुने जोखिमको प्रभाव पनि कम गर्न सक्छ।
तर यसको अर्को पाटो पनि छ। विश्वका धेरै देशले एकैपटक उत्पादन बढाए र चीनजस्ता ठूला उपभोक्ताको तेल माग अपेक्षाभन्दा कम भयो भने बजारमा तेलको अधिक आपूर्तिले तेलको मूल्य घट्नुका साथै पेट्रोल, डिजेल, ढुवानी र उत्पादन लागत कम हुन सक्छ।
तर तेल निर्यातमा निर्भर देशका लागि भने यो गम्भीर चुनौती बन्न सक्छ। तेलको मूल्य लामो समयसम्म कमजोर रह्यो भने उनीहरूको सरकारी आम्दानी, विदेशी मुद्रा सञ्चिति र विकास खर्चमा समेत दबाब पर्न सक्छ। यही कारण इरान युद्धले तेल बजारमा शक्ति सन्तुलनसमेत परिवर्तन गरिरहेको जस्ताे देखिन्छ।
इरान युद्धको अन्त्य भएर तेल आपूर्ति सहज र जोखिम कम भए पनि विश्व अर्थतन्त्र युद्धअघिको अवस्थामा हुबहु फर्किने सम्भावना एकदमै न्युन छ।
अहिलेको सबैभन्दा ठूलो परिवर्तन तेलको मूल्यमा होइन, जोखिमप्रतिको विश्वको दृष्टिकोणमा आएको छ। हर्मुज संकटले ऊर्जा आपूर्ति सुरक्षित छ कि छैन भन्ने प्रश्नलाई केन्द्रमा ल्याएको छ।
पछिल्लो ६ महिनामा ऊर्जा आपूर्तिको विविधीकरण, मागमा आएको संरचनात्मक परिवर्तन र उत्पादन शक्तिको भौगोलिक विस्तार भइसकेकाले आगामी दिनमा विश्व व्यापार र ऊर्जा सुरक्षाको नयाँ स्वरूप यही युद्धकालिन परिवर्तनको जगमा निर्माण हुनेछ।
युद्ध कहिले पूर्ण रूपमा अन्त्य हुन्छ भन्ने अझै निश्चित छैन। तर यसले विश्व अर्थतन्त्रलाई तीनवटा स्पष्ट दिशातर्फ धकेलेको देखिन्छ- ऊर्जा आपूर्तिको विविधीकरण, तेलको मागमा संरचनात्मक परिवर्तन र उत्पादन शक्तिको भौगोलिक विस्तार।












