ढुवानी ठप्प हुँदा राजधानीमा एलपीजी ग्यासको चरम अभाव, मनपरी मूल्य असुल्न थाले व्यापारी
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो।
काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो।
यसअघि नै ग्यासको सहज आपूर्ति हुन नसकेको अवस्थामा मुख्य सडक नै ठप्प भएपछि उपत्यकामा कालोबजारी मौलाएको हाे । याे संकटले अब विकराल रूप लिएको छ।
राजमार्ग अवरुद्ध भएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथको घुमाउरो र पट्यारलाग्दो बाटो प्रयोग गरेर साना ट्रकबाट ग्यासका भरी सिलिण्डर ल्याउन बाध्य भएका छन्। यद्यपि, यो प्रयासले बजारको माग धान्न पटक्कै सकेको छैन।
व्यवसायीहरूका अनुसार उपत्यकामा अहिले दैनिक १ लाख सिलिन्डर ग्यासको माग रहेको छ। तर, अवरुद्ध ढुवानीका कारण दैनिक औसत २० हजार सिलिन्डर हाराहारी मात्रै भित्रिने गरेको छ। मंगलबारको तथ्यांक हेर्दा स्थिति झनै दयनीय बनेको छ । जसमा देशभरका विभिन्न ९ वटा ग्यास कम्पनीबाट जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्रै डिलरहरूसम्म पुग्न सकेका छन्।
नेपाल आयल निगमले उपलब्ध गराएको विवरणअनुसार मंगलबार सबैभन्दा बढी सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ र एभरेस्ट ग्यासले ३ हजार ४ सय ७५ सिलिन्डर वितरण गरेका छन्। अन्य सुगम, एसटीसी, सीताश्री, श्री, श्रीमाया, श्रीराम र मनोज ग्यासले समेत न्यून मात्रामा मात्र सिलिन्डर बजारमा पठाएका छन्।
माग र आपूर्तिको यो असन्तुलनले गर्दा उपत्यकाका धेरैजसो होटल र रेस्टुरेन्टहरू समेत बन्द हुने अवस्थामा पुगेका छन्।
नेपाल आयल निगमले एलपीजी ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको छ। यद्यपि, ढुवानी लागत अत्यधिक बढेको भन्दै उद्योगीहरूले २ हजार १ सय ६५ रुपैयाँमा ग्यास बिक्री गर्दै आएका छन्।
यसैबीच, बजारमा देखिएको अभावको फाइदा उठाउँदै डिलर तथा स्थानीय खुद्रा पसलेहरूले कालोबजारी तीव्र बनाएका छन्। मनमैजु क्षेत्रमा केही किराना पसलहरूले खाली सिलिन्डर र २ हजार ६ सय ६० रुपैयाँ अग्रिम बुझाए मात्र एक-दुई दिनभित्र ग्यास उपलब्ध गराउने नियम बसालेका छन्।
महँगो मूल्य तिरेरै भए पनि इन्धन पाइने भएपछि उपभोक्ताहरू चुपचाप यो लुट सहिरहेका छन्। महिनाौँदेखि डिलरमा पालो पर्खिएर पनि ग्यास नपाएका आम उपभोक्ता अतिरिक्त रकम तिरेर भए पनि कालोबजारियाबाट ग्यास किन्न बाध्य भएका छन्।
एउटा राजमार्ग अवरूध्द हुँदा त्यसकाे विकल्पमा प्रयाेग गर्न सक्ने अर्काे राजमार्ग समेत नहुनु याे देशकाे सबैभन्दा ठूलाे बिडम्बना हाे । अहिले काठमाडाैँ उपत्यका र देशका बाँकी भूभाग जाेड्ने कुनै पनि राजमार्गहरू ठूला ट्रक र ग्यासका बुलेट कुदाउन लायक छैनन् । यही कारण कृष्णभिरकाे ३० मिटरकाे पहिराेले पुरै देशलाइ ठप्पप्रायः बनाउँदै छ ।
फलस्वरूप देशमा कालाेबजारी पनि अब संस्थागत हुने र जनता पनि त्यसमा विस्तारै अभ्यस्त हुने खतरा बढेकाे विज्ञहरू बताउँछन् ।












