२४ भदौ २०८३, बुधबार

विध्वंशक बाढीले बगाएको देवीघाट पुल सेनाले गर्‍यो पुनर्निर्माण



काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको देवीघाटको पुल नेपाली सेनाले पुननिर्माण गरेको छ । घटनाको दुई साता नबित्दै पुल ठडिएपछि अवरुद्ध बनेको यातायात पुनः सञ्चालनमा आउने भएको छ ।

सेनाको इञ्जिनियरिङ विभागसँग रहेको एक्रो ब्रिज जडान गरेर यो पुल तयार पारिएको हो । साधारण बेली ब्रिजभन्दा बढी बलियो, उच्च भारबहन क्षमताको र टिकाउ मानिने यो पुललाई स्थायी संरचनाकै रूपमा प्रयोग गर्न सकिने सेनाले जनाएको छ । बुधबारसम्म निर्माणको सबै काम सकेर बेलुकी वा बिहीबार बिहानबाटै आवागमन खुलाउने तयारी गरिएको छ ।

दुई साताको छोटो अवधिमै यातायात जोड्ने भरपर्दो संरचना तयार भएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन् । यो पुल सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गलाई नुवाकोट सदरमुकाम र रसुवासँग जोड्ने मुख्य मार्ग पुनः खुल्नेछ ।

देवीघाटको पुलसँगै प्रभावित क्षेत्रमा अन्य पूर्वाधार निर्माण र मर्मतका कामले पनि गति लिएका छन् । नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदी क्षेत्रमा सेनाबाट खटिएका ५५ जना इञ्जिनियरिङ फौजले संरचना निर्माणको काम गरिरहेका छन् ।

बाढीका कारण क्षति पुगेका पाँचवटा झोलुङ्गे पुलको मर्मत भइसकेको छ भने बाँकी १५ वटा पुलको मर्मतका लागि पनि आवश्यक तयारी अघि बढाइएको छ । यस्तै, ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब दुई सय ५० मिटर लम्बाइको नयाँ झोलुङ्गे पुल निर्माणका लागि परामर्श र प्रारम्भिक काम सुरु भइसकेको छ ।

यसअघि बाढीले सम्बन्ध विच्छेद गराएका त्रिशूली बजार क्षेत्रमा पनि क्रमशः नयाँ पुल बनाउने योजना अघि बढाइएको छ । त्रिशूली बजारमा नयाँ पुल बनेसँगै नदी पारि र वारिका बस्तीको सम्बन्ध मात्र जोडिने छैन, यसले मध्यपहाडी लोकमार्गको विच्छेदित खण्डलाई जोडेर यातायात सहज बनाउनेछ ।

बेत्रावती क्षेत्रमा पनि अर्को पुल निर्माणको तयारी तिब्र पारिएको छ । यसले पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउने छ भने रसुवा पुग्न सहज बनाउने छ ।

विपद् प्रभावित इलाकामा खोज तथा उद्धारका साथै भौलोलिक सम्पर्क स्थापित गर्ने पुर्वाधारको पुन:निर्माणमा सेनाको प्रयास र सफलताले नेपाली सेनाको छबी र उसको लोकप्रियता पहिलेभन्दा कयौँ गुणा बढेको देखिएको छ । मानिसहरुले सेनाको यस्तो सक्रीयतालाई हृदयदेखि नै सह्राना गरिरहेका छन् ।