२४ भदौ २०८३, बुधबार

बाढीपछि पुनरुत्थान र क्षति आकलनबारे विकास साझेदारसँग अर्थमन्त्रीको छलफल



काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् पछिको पुनरुत्थान तथा क्षति र आवश्यकता आकलनका विषयमा प्रमुख विकास साझेदारहरूसँग विस्तृत छलफल गरेका छन।

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा स्थानीय विकास साझेदारहरूको बैठक बसेको हो। उक्त बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको सहभागिता रहेको अर्थमन्त्रालयको सचिवालयले जनाएको छ।

बैठकमा विशेष गरी रसुवामा आएको बाढी र त्यसपछिको अवस्थाबारे केन्द्रित रहेर छलफल भएको छ। विपद्पछि चलाइएको खोज तथा उद्धार कार्य, प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र भौतिक तथा आर्थिक क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा गरिएको छ।

बाढी प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण र पुनरुत्थानका लागि आवश्यक वित्तीय तथा प्राविधिक सहयोग जुटाउन विकास साझेदारहरूसँग समन्वय गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ।