२४ भदौ २०८३, बुधबार

रसुवा बाढिपडितका लागी नेपाल टेलिकमद्वारा १० करोड सहयोग, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा



काठमाडौं । नेपाल टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ ।

भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि टेलिकमले बुधवार सो रकम हस्तान्तरण गरेको हो । 

आज एक कार्यक्रमका बिच सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले उक्त रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन । 

उक्त रकम हस्तान्तरण कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेतको उपस्थिति रहेको थियो ।

यस अघि कम्पनीका कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको छ ।

कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात् नै ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।

कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।

नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् र कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।