२५ भदौ २०८३, बिहिबार

सञ्चार मन्त्रालयका सचिव पौडेल बने नेपाल टेलिकमका नयाँ अध्यक्ष



कोशी प्रदेशका पूर्वप्रमुख सचिव तथा हाल सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन् ।

काठमाडाैँ । राज्यको स्वामित्वमा रहेको दूरसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नयाँ नेतृत्व पाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयमा सरुवा भई आएका सचिव राजेन्द्रकुमार पौडेल कम्पनीको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका हुन्।

कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालिसकेका पौडेलले सञ्चार मन्त्रालयमा सरुवा भएलगत्तै टेलिकमको अध्यक्षको पदभार सम्हाल्ने बाटो खुलेको हो। कम्पनीको प्रचलित नियमावलीमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव नै नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्ष रहने कानुनी व्यवस्था छ।

सोही प्रावधानलाई टेकेर उनलाई यो जिम्मेवारी सुम्पिएको हो। नयाँ अध्यक्ष पौडेलले भदौ ११ गते नै आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरिसकेका छन्।

नेतृत्व परिवर्तनको यो घटनाक्रमसँगै नेपाल टेलिकमले कानुनी प्रक्रियासमेत पूरा गरेको छ। कम्पनीले यसअघि टेलिकमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सम्हालेकी लक्ष्मीकुमारी बस्नेतको कार्यकालपछि नयाँ अध्यक्ष आएको बारे कम्पनी रजिष्ट्रारको कार्यालयलाई औपचारिक पत्रमार्फत जानकारी गराइसकेको छ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा ९२ को उपदफा (३) ले निर्देश गरे बमोजिम अध्यक्ष फेरबदल भएको सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पनि विधिवत रूपमा पठाइएको छ।