इरान-अमेरिका युद्धको बाछिटा: विश्व अर्थतन्त्र र समुद्री व्यापारको नयाँ ‘डेन्जर जोन’ कसरी बन्याे यमनको पेरिम टापु ?
काठमाडाैं । इरान र अमेरिकाबीचको युद्ध तथा बढ्दो रणनीतिक टकरावले यमनको तटीय क्षेत्र नजिकै रहेको पेरिम टापुलाई अहिले विश्वकै संवेदनशील रणनीतिक केन्द्रमा पुर्याएको छ।
स्ट्रेट अफ होर्मुज लगभग बन्द भएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अर्को महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ बाब अल-मन्डबमाथि पनि संकटको बादल मडारिन थालेको छ ।
मरुभूमिजस्तो देखिने यो सानो पेरिम टापु बाब अल-मन्डबको सबैभन्दा साँघुरो भागमा अवस्थित छ। यसको एकातर्फ यमन र अर्कोतर्फ अफ्रिकी महादेशका इरिट्रिया तथा जिबुती छन्। यही भौगोलिक अवस्थितिका कारण पेरिममाथि नियन्त्रण कायम गर्ने शक्तिले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री आवागमनमाथि ठूलो प्रभाव पार्न सक्छ।
होर्मुजमा देखिएको संकटपछि बाब अल-मन्डब अहिले वैकल्पिक जलमार्गका रूपमा झनै महत्वपूर्ण बनेको छ। स्ट्रेट अफ होर्मुजबाट हुने ऊर्जा आपूर्ति प्रभावित भएपछि विश्व बजारमा इन्धनको आपूर्ति सहज राख्न साउदी अरेबियाले आफ्नो तेल निर्यातको केही हिस्सा होर्मुजबाट हटाएर लाल सागर हुँदै पठाउन थालेको छ। यसको उद्देश्य विश्व बजारमा ऊर्जा आपूर्ति कायम राख्नु र तेलको मूल्य थप बढ्न नदिनु हो।
तर यही समयमा इरान समर्थित यमनका हुथी विद्रोहीले लाल सागरको तटीय क्षेत्रमा आफ्नो सैन्य अभियान तीव्र बनाएका छन्। हुथीहरूले पेरिम टापुमाथि नियन्त्रण कायम गर्न सके स्ट्रेट अफ बाब अल-मन्डब हुँदै लाल सागर प्रवेश गर्ने र बाहिरिने पानीजहाजको आवतजावतमा समेत अवरोध खडा गर्न सक्ने चिन्ता बढेको छ।
हुथी विद्रोहीले पेरिमभन्दा करिब ५० माइल उत्तरमा रहेको मोचा सहर कब्जा गर्ने प्रयासलाई तीव्र बनाएका छन्।
लाल सागर किनारमा रहेको मोचा यमन सरकारको नियन्त्रणमा रहेको महत्वपूर्ण तटीय सहर हो। मोचा नियन्त्रणमा लिन सके हुथीलाई पेरिमतर्फ अघि बढ्न थप रणनीतिक आधार मिल्न सक्छ। त्यसैले यमन सरकार समर्थित सैन्य पक्षले मोचा र त्यस आसपासका क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाएको छ।
पेरिम टापुको रणनीतिक महत्व अहिले मात्रै देखिएको होइन। इतिहासमा पनि यो टापु विभिन्न साम्राज्य र क्षेत्रीय शक्तिका लागि महत्वपूर्ण रहँदै आएको थियो। स्ट्रेट अफ बाब अल-मन्डबको सबैभन्दा साँघुरो भागमा रहेको पेरिमले अफ्रिकी महादेशलाई अरब प्रायद्वीपसँग नजिकबाट जोड्छ। ब्रिटिस साम्राज्यको समयमा भारततर्फ जाने पानीजहाजका लागि पेरिम कोइला भण्डारण तथा जहाज रोकिने केन्द्रका रूपमा समेत प्रयोग भएको थियो। अहिले पनि टापुमा रहेका जीर्ण संरचनाले त्यसको पुरानो साम्राज्यवादी इतिहासको झल्को दिन्छ।
भूराजनीतिक मोड, हुथीको रणनीति र अन्तर्राष्ट्रिय चेतावनी
विगत एक दशकदेखि यमनको गृहयुद्ध एउटा क्षेत्रीय द्वन्द्वका रूपमा मात्र सीमित देखिएको थियो। तर, हुथी विद्रोहीहरूले लाल सागरको तटीय क्षेत्रमा नियन्त्रण बढाउँदै लगेपछि यो द्वन्द्व वासिङ्टन र तेहरानबीचको प्रत्यक्ष टकरावको नयाँ मोर्चाका रूपमा उभिएको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका उपाध्यक्ष तारिक सालेहले अमेरिकाबाट केवल आश्वासन मात्र पाएको तर वास्तविक सहयोग नपाएको गुनासो गरे। यदि हुथीहरूले पेरिम द्वीप कब्जा गरेर स्ट्रेट अफ बाब अल-मन्डबमा नियन्त्रण जमाएमा उनीहरूलाई हटाउन ठूलो अन्तर्राष्ट्रिय नौसेना नै परिचालन गर्नुपर्ने चेतावनी उनले दिएका छन्।
सन् २०१४ मा हुथीहरूले यमनको राजधानी साना कब्जा गरेपछि गृहयुद्ध सुरु भएको थियो। त्यसपछि साउदी अरेबियाको नेतृत्वमा सैन्य अभियान चलाइएको थियो भने इरानले हुथीहरूलाई हतियार र तालिम दिँदै आएको छ।
हालैका महिनाहरूमा अमेरिकी र इजरायली हमलाहरूमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि यो द्वन्द्वले नयाँ मोड लियो। त्यसपछि साउदी अरेबिया र हुथीहरूबीचको चार वर्ष लामो युद्धविराम भंग भयो। हुथीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गर्दै साउदी इन्धन बोकेका जहाज र पूर्वाधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, हुथीहरूले घरेलु समस्याबाट ध्यान हटाउन र क्षेत्रीय रूपमा आफ्नो प्रभाव देखाउन पनि यो युद्धलाई तीव्र बनाएका हुन्।
इरानी हतियारको ओसारपसार र सम्भावित खतरा
युद्धको सोझो असर विश्वव्यापी तेल व्यापार र स्थानीय अर्थतन्त्रमा परेको छ। तीन वर्ष अघिसम्म विश्वको कुल समुद्री तेल व्यापारको १० प्रतिशत भाग स्ट्रेट अफ बाब अल-मन्डब भई जाने गरेकोमा हाल त्यो आधाले घटेको छ।
हुथीहरूको ड्रोन र मिसाइल आक्रमणका कारण सर्वसाधारण माछापालकहरू मारमा परेका छन्। तटीय क्षेत्रमा नियमित रूपमा हुने व्यापार ठप्प प्रायः छ।
लाल सागरको प्रमुख बन्दरगाह सहर मोखामा हुथीहरूले २५ भन्दा बढी रकेट प्रहार गर्दा व्यापक क्षति पुगेको छ। हमलामा १६ जनाको मृत्यु, २२ जना घाइते हुनुका साथै ६ वटा व्यावसायिक जहाज डुबेका छन्।
यमनी सेनाले कब्जामा लिएका तस्करीका हतियारहरूले हुथीहरूलाई इरानबाट कति ठूलो सहयोग मिलिरहेको छ भन्ने स्पष्ट पार्छ। सेनाले बरामद गरेका हतियारहरूमा १८ फिट लामा मिसाइल, जटिल राडर प्रणाली, ड्रोनका इन्जिन र अप्टिकल उपकरणहरू रहेका छन्, जुन व्यावसायिक सामानको रूपमा लुकाएर ल्याइएका थिए।
सैन्य अधिकारीहरूका अनुसार, यदि हुथीहरूले पेरिम टापुमा पूर्ण नियन्त्रण कायम गर्न सफल भए उनीहरूलाई दूरगामी हतियारको पनि आवश्यकता पर्दैन। उनीहरूले स्ट्रेट अफ होर्मुजमा जस्तै स्ट्रेट अफ बाब अल-मन्डबमा पनि सुरुङ/माइन बिछ्याएर व्यापारिक मार्ग पूर्ण रूपमा ठप्प पार्न सक्नेछन्।
यसकारण पेरिमको लडाइँ यमनको एउटा सानो टापुका लागि हुने संघर्षमा मात्र सीमित नरहने देखिन्छ। यो समुद्री व्यापार, तेल आपूर्ति र विश्व अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको रणनीतिक संघर्ष बन्न सक्ने जोखिम बढेको छ।
यमनी सैन्य अधिकारीहरूका अनुसार उनीहरू अन्तर्राष्ट्रिय समुदाय र सम्पूर्ण अरब जगत्को तर्फबाट यो युद्ध लडिरहेका छन्। यदि समयमै आवश्यक सहयोग नमिलेमा यसको ठूलो मूल्य पछि अन्तर्राष्ट्रिय समुदाय, अमेरिकी सेना र विश्व व्यापारले चुकाउनुपर्ने चेतावनी उनीहरूले दिएका छन्।












