सरकार निजी क्षेत्रसँगको सम्बन्ध सुधारमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता लामो समयदेखि अवलम्बन गरिएका नीतिहरूको परिणाम भएको बताएका छन्। उनले अहिलेको अवस्थालाई सुधार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसँगको सम्बन्ध सुधारमा केन्द्रित रहेको जानकारी दिए।
सेजनको २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्लो आर्थिक शिथिलताका कारण सहकारी क्षेत्रमा लाखौँ नागरिकको बचत रोकिएको उल्लेख गरे। उनले अर्थतन्त्रलाई धान्न रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको पनि बताए।
वाग्लेले लामो समयदेखिको ‘कुशासनको चक्र’ भत्काउने क्रममा केही असन्तुलन देखिएको दाबी गरे। उनका अनुसार अहिले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध क्रमश: सुधार हुँदै गएको छ।
सरकारले सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने तयारीसमेत अघि बढाएको उनले जानकारी दिए। उनका अनुसार गोरखकाली टायरसहित सातवटा संस्थाको ड्यु डिलिजेन्स सम्पन्न भइसकेको छ। यी संस्थालाई निजी क्षेत्रमार्फत सञ्चालन गर्न दिने सरकारको योजना रहेको उनले बताए।
बाढी प्रभावित व्यवसायको लागि कर्जा पुनर्संरचनाको विषयमा समेत सरकारले पहल अघि बढाएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। व्यवसायलाई पुन: सञ्चालन र आर्थिक गतिविधिलाई गति दिन कर्जा पुनर्संरचनाको व्यवस्था ल्याउन लागिएको उनको भनाइ छ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले सेयर बजारका विषयमा पनि सरकारले नयाँ नीतिगत परिवर्तन गर्न लागेको बताएका छन्। उनले दुई साताभित्र सेयर बजारसम्बन्धी नयाँ नीतिगत परिवर्तन सार्वजनिक हुने संकेत दिए।
नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’बाट हटाउन सरकारले तीव्र रूपमा काम गरिरहेको पनि उनले बताए। “देशलाई ग्रे लिस्टबाट चाँडै निकाल्नुपर्छ,” भन्दै उनले यसका लागि सरकारबाट भरमग्दुर प्रयास भइरहेको उल्लेख गरे।












