२७ भदौ २०८३, शनिबार

स्वस्तिक रोलिङको बलियो पुनरागमन: १० महिनामा सवा ३ अर्बको कारोबार, तर उच्च ऋणको जोखिम कायमै



काठमाडौं । प्राइमरी स्टिल उत्पादक कम्पनी स्वस्तिक रोलिङ मिल्स प्रालीले चालु आर्थिक वर्ष सन् २०२६ को पहिलो १० महिनामा ३ अर्ब १८ करोड ६० लाख रूपैयाँ बराबरको व्यापार गरेको छ।

आरके गोल्छा ग्रुपअन्तर्गतको यस कम्पनीले अघिल्ला वर्षहरूको तुलनामा आफ्नो व्यावसायिक दायरालाई उल्लेख्य रूपमा विस्तार गर्दै लगेको हो। सन् २०२२ मा १ अर्ब २ करोड ३० लाख रूपैयाँ मात्र रहेको कम्पनीको व्यापार सन् २०२५ सम्म आइपुग्दा करिब चार गुणाले बढेको छ।

यद्यपी विगतका वर्षहरूकाे तथ्यांक हेर्दा भने कम्पनीको कारोबारमा उतारचढाव देखिएकाे छ। कम्पनीले सन् २०२३ मा ह्वात्तै वृद्धि हासिल गर्दै ३ अर्ब ४८ करोड ६० लाख रूपैयाँको कारोबार गरेको थियो। तर, सन् २०२४ मा देशको समग्र निर्माण क्षेत्रमा आएको सुस्तताका कारण व्यापारमा केही गिरावट आई ३ अर्ब १४ करोड ४० लाख रूपैयाँमा सीमित हुन पुग्यो। त्यसपछिको वर्षमा भने कम्पनीले बलियो पुनरागमन गर्यो। कम्पनीले सन् २०२५ मा ४ अर्ब ६ करोड ८० लाख रूपैयाँ बराबरको व्यापार गरेको छ, जुन हालसम्मकै उच्च हो।

व्यापारिक आकारसँगै कम्पनीको नाफा मार्जिनमा पनि निरन्तर सुधार आएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२२ को १.३ प्रतिशत र सन् २०२४ को ५.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ७.१ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो १० महिनामा यो मार्जिन थप सुध्रिएर ७.७ प्रतिशत पुगेको छ।

कच्चा पदार्थको मूल्य र निर्माण क्षेत्रको चक्रीय उतारचढावका बाबजुद बज्रङ्ग स्टिल ब्रान्ड उत्पादक यस कम्पनीले आफ्नो बजार उपस्थिति थप मजबुत बनाउँदै लगेको छ।

तर, व्यावसायिक आम्दानी र नाफा मार्जिनमा सुधार आए तापनि उच्च कर्जा भार र कमजोर तरलताका कारण कम्पनीको वित्तीय जोखिम भने उच्च नै रहेको छ।

चालु आवको १० महिनासम्ममा कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात (गियरिङ) ३.९ गुणा र कुल ऋण तथा सञ्चालन नाफाको अनुपात ८.२ गुणा रहेको छ।

यद्यपि, यो स्थिति सन् २०२५ को तुलनामा भने केही सुध्रिएको हो। ब्याजदरमा आएको गिरावटले केही राहत मिले पनि लगातार बढ्दो ऋण भारका कारण कम्पनीको ऋण भुक्तानी क्षमता १.१ गुणाको जोखिमपूर्ण स्तरमा सीमित छ।

यसैगरी, कम्पनीको कार्यशील पुँजीको आवश्यकता बढ्दै जाँदा तरलतामा चाप परेको छ। सञ्चालन आयको तुलनामा कार्यशील पुँजीको अनुपात सन् २०२४ मा १४ प्रतिशत रहेकोमा सन् २०२५ मा २९ प्रतिशत र सन् २०२६ को १० महिनामा २६ प्रतिशत पुगेको छ। यसले गर्दा बैंकबाट लिइएको कर्जा सीमाको अत्यधिक उपयोग (मे २०२६ सम्म करिब १४५ प्रतिशत) हुन पुगेको छ।

सन् २०१४ मा स्थापित यस कम्पनीले ‘बज्रङ्ग स्टिल’ ब्रान्डअन्तर्गत टीएमटी रड, एमएस बिलेट तथा अन्य स्टिल उत्पादन गर्दै आएको छ।

इक्रा नेपालले कम्पनीको १ अर्ब २० करोड रूपैयाँको दीर्घकालीन कर्जाका लागि ‘एल बी प्लस’ र १ अर्ब ८० करोड रूपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फाेर’ रेडिङ दिएको छ।

नेपाल-भारत सीमा नजिकै कारखाना हुनु र अनुभवी प्रवर्द्धक हुनु कम्पनीका सबल पक्ष हुन् भने कच्चा पदार्थका लागि विदेशी बजारमा निर्भरता, विदेशी मुद्रा विनिमय जोखिम, र निर्माण क्षेत्रको शिथिलता कम्पनीका मुख्य चुनौती हुन्।