५००१ रुपैयाँमै टोकन बैनाको सुविधा, मध्यम वर्गलाई लक्षित गरी काठमाडौंमा भव्य घरजग्गा मेला हुने
मध्यम वर्गलाई लक्षित गर्दै काठमाडौंमा सुरु हुने आवास एक्स्पोले ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
काठमाडाैँ । घर निर्माण र घडेरी जोडल्ने सपना बोकेका मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै राजधानीमा ९औँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी आयोजना हुने भएको छ। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ असोज १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने यस एक्स्पोमा सुलभ मूल्यदेखि भारी छुटसम्मका योजनाहरू सार्वजनिक गरिएका छन्।
घरजग्गाको कारोबार सुस्ताएको वर्तमान अवस्थामा बजारलाई चलायमान बनाउन र आम उपभोक्ताको सहज पहुँच स्थापित गर्न यो प्रदर्शनी अर्थपूर्ण हुने अपेक्षा गरिएको छ।
सिजी प्रोपर्टिजको मुख्य प्रायोजनमा हुन लागेको यस मेलामा ७७ लाख ५० हजार रुपैयाँमै घर पाउन सकिने अफर राखिएको छ। यसका साथै जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र मात्र ५ हजार एक रुपैयाँमा टोकन बैना गर्न सकिने व्यवस्था मिलाइएको छ। यदि टोकन बैना गरेपछि जग्गा चित्त नबुझेमा रकम फिर्ता हुने सुविधा पनि दिइएको छ। विशेष गरी नुवाकोट र रसुवा जिल्लाका नागरिकलाई पायक पर्ने तथा काठमाडौं नजिकै तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने नवीन अवधारणा पनि एक्स्पोमा प्रस्तुत गरिनेछ।
ठूलो परिमाणमा आवास निर्माण गरेर कम नाफामा बिक्री गर्ने मास हाउजिङ मोडलमार्फत लागत घटाउने योजना आयोजकले बनाएका छन्। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा सहकार्य भई हुन लागेको यो मेलालाई सिया इभेन्ट एसोसिएट्सले व्यवस्थापन गरिरहेको छ।
यसमा एशियन पेन्ट्स् पावर्ड बाइ स्पोन्सर रहेको छ भने प्रभु इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रुपमा जोडिएको छ। स्मार्ट पानी, केबी र युएचएस होल्डिङ्गस सहयोगी निकायका रूपमा रहेका छन्।
प्रदर्शनीमा घरजग्गाको खरिदबिक्री मात्र नभई निर्माण सामग्री, आधुनिक प्रविधि, सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामान, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइनलगायतका उत्पादनहरू प्रदर्शन गरिनेछन्।
वातावरणीय पक्षलाई ध्यानमा राख्दै सौर्य ऊर्जा, वर्षाको पानी संकलन र फोहोर व्यवस्थापन प्रविधिसम्बन्धी जानकारी पनि दिइनेछ। बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहने हुनाले दर्शकले आवासीय कर्जा र वित्तीय व्यवस्थापनबारे एकै ठाउँबाट परामर्श लिन सक्नेछन्।
आधुनिक प्रविधिको अधिक प्रयोग गर्दै यसपटकको एक्स्पोलाई पेपरलेस बनाउने लक्ष्य राखिएको छ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरी प्रदर्शनीलाई थप आकर्षक बनाइनेछ। घर निर्माणसम्बन्धी प्राविधिक पक्ष बुझ्न चाहनेका लागि इन्जिनियर, आर्किटेक्ट र वास्तुविद्बाट निःशुल्क परामर्श लिने व्यवस्था मिलाइएको छ।
यसबाहेक भूकम्पप्रतिरोधी संरचना निर्माण र नयाँ उद्यमीहरूका लागि व्यावसायिक तालिम तथा परामर्शको सुविधा पनि उपलब्ध गराइएको छ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै एक्स्पोको अवधिमा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्। ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरिनेछ।
उपभोक्ताले सीधा बिक्रीकर्तासँग संवाद गरी परियोजनाको स्थान, मूल्य, भुक्तानी प्रक्रिया र अन्य सर्तबारे प्रत्यक्ष जानकारी लिन सक्ने भएकाले यो मेला आफ्नै घरको सपना साकार पार्न चाहनेहरूका लागि गतिलो अवसर बन्ने विश्वास लिइएको छ।












