ठमेलबाट स्रोत नखुलेको नगदसहित एक युवक पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रबाट स्रोत खुल्न नसकेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने रहेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरीले चेकजाँचका क्रममा घताने सवार बा ९७ प २६४४ नम्बरको स्कुटरबाट उक्त रकम बरामद गरेको हो।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले स्कुटर रोकेर जाँच गर्ने क्रममा नगद फेला पारेपछि घतानेलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद भएको रकमको स्रोतबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












