बाढी प्रभावितको लागि नयाँ बस्ती बसाउने तयारी, स्रोत अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधन जुटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा शाहले सरकारसँग रहेका स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगलाई समेत पुनःस्थापनाको काममा परिचालन गरिने जानकारी दिए।
बाढीपछि संघ, प्रदेश र स्थानीय सरकारबीच भएको तत्कालीन समन्वयका कारण उद्धार तथा व्यवस्थापनका काम प्रभावकारी रूपमा अघि बढेको उनको भनाइ थियो। यस्तो सहकार्यले स्थानीय जनप्रतिनिधि तथा प्रभावित समुदायको मनोबल कायम राख्नसमेत सकारात्मक भूमिका खेल्ने उनले बताए।
प्रधानमन्त्री शाहले बाढीका कारण क्षतिग्रस्त सडक तथा यातायात संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे। सडक सम्पर्क पुनःस्थापित भएपछि प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्कन थप सहज हुने उनको विश्वास छ।
सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने तयारी
भोटेकोशी नदी आसपासका बस्ती भविष्यमा पनि बाढीको जोखिममा पर्न सक्ने भएकाले त्यही स्थानमा पुनः बस्ती बसाल्नु उपयुक्त नहुने शाहले स्पष्ट पारे। उनका अनुसार सरकारले सुरक्षित क्षेत्रमा नयाँ बस्ती विकास गर्ने तयारी अघि बढाएको छ।
नयाँ बस्ती निर्माण गर्दा स्थानीयको रोजगारी, शिक्षा, स्वास्थ्य, सांस्कृतिक पहिचान तथा खेतीयोग्य जमिनको संरक्षणलाई समेत प्राथमिकतामा राखेर व्यवस्थित र वैज्ञानिक ढंगले योजना बनाउनुपर्ने प्रधानमन्त्री शाहले बताए।
उनले प्रभावित क्षेत्र नजिकै रहेका सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी त्यसबारे संघीय सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। जनप्रतिनिधिसँगको छलफलले बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था र आवश्यकताबारे सरकारलाई थप जानकारी प्राप्त भएको उनको भनाइ थियो।












