प्रधानमन्त्रीसँग बैठक सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ
काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए।
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पनि छलफलमा सहभागी भएका थिए।
छलफलमा सहभागी भएर फर्किने क्रममा नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।












