३० भदौ २०८३, मंगलबार

क्यान महासंघको नाम, लेटरहेड र छाप अनधिकृत प्रयोग भएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण



काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता चलानी नम्बर अनधिकृत रूपमा प्रयोग भएको पाइएको छ। उक्त विवरणहरुको अनधिकृत दुरुपयोग गर्दै कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं सरकारी निकायमा पत्राचार भइरहेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको हो।

क्यान महासंघको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय र सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्र हुने स्पष्ट व्यवस्था रहेको छ । यसविपरीत जारी गरिएका कुनै पनि पत्र, निर्णय वा सूचना क्यान महासंघको आधिकारिक धारणा वा निर्णय नरहेको स्पष्ट गरिएको छ।

महासंघको नाम, लेटरहेड, छाप वा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई सचेत समेत गराइएको छ। यस्ता गतिविधि पुन: दोहोरिएमा वा त्यसबाट संस्थाको प्रतिष्ठा, अधिकार वा कामकारबाहीमा असर पुग्ने अवस्था सिर्जना भएमा सम्बन्धित व्यक्ति वा पक्षविरुद्ध महासंघको विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक संस्थागत एवं कानुनी कारबाही अघि बढाइनेछ।

यसैबीच क्यान महासंघको नामबाट प्राप्त कुनै पनि पत्राचार वा निर्देशनको आधिकारिकता महासंघको सचिवालयबाट पुष्टि नगरी कार्यान्वयन नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था तथा सम्पूर्ण सरोकारवालालाई क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले आग्रह गरे।