३० भदौ २०८३, मंगलबार

इरान द्वन्द्व सकिएलगत्तै विश्वका अन्य मुलुकसँग क्षतिपूर्ति उठाउने ट्रम्पकाे चेतावनी



हर्मुजको जलमार्गमा चलिरहेकाे द्वन्द्वमा सहयोग नगर्ने मुलुकहरूसँग अमेरिकाले क्षतिपूर्ति असुल गर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फारसी खाडीमा चलिरहेकाे हर्मुज जलमार्गको द्वन्द्वका बेला संयुक्त राज्य अमेरिकालाई कुनै पनि किसिमको सहयोग नगर्ने विश्वका अन्य मुलुकहरूले भविष्यमा हर्जाना तिर्नुपर्ने बताएका छन् । उनले यो स्थिति (युध्द) समाप्त भएपछि वासिङ्टनलाई त्यसबापतको रकम फिर्ता गर्नुपर्ने माग गरेका छन्।

उनले यो द्वन्द्व सकिएलगत्तै ती मुलुकहरूले अमेरिकी सरकारलाई क्षतिपूर्ति तिर्नुपर्ने र तिराएरै छाड्ने कडा चेतावनी दिएका छन्।

वैश्विक ऊर्जा आपूर्ति तथा ढुवानीका लागि होरमुज जलडमरुमध्य एक अत्यन्तै महत्त्वपूर्ण मार्ग हो। यही सामरिक महत्त्वको मार्गमा तेलको प्रवाह निरन्तर जारी रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले विश्वका अन्य देशहरूले अप्ठ्यारोमा अमेरिकालाई साथ नदिएकोमा कडा असन्तुष्टि व्यक्त गरे।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले अमेरिकाले कैयौँ पुस्तादेखि आफ्ना लागि भन्दा पनि अन्य राष्ट्रहरूको हितका लागि बढी काम गर्दै आएको र ठूलो भार बोक्दै आएको तर्क गरे।

विश्वका अधिकांश मुलुकप्रति रोष प्रकट गर्दै ट्रम्पले भनेका छन्, “हामीलाई कुनै पनि किसिमको सहयोग नगर्ने विश्वका देशहरूले जब यो ढोङ र द्वन्द्वको अन्त्य हुन्छ, तब संयुक्त राज्य अमेरिकालाई यसको क्षतिपूर्ति दिनुपर्छ र हामी असुल गरी छाड्नेछौँ।” राष्ट्रपति ट्रम्पले अमेरिकाले लामो समयदेखि आफ्ना नागरिकभन्दा बाह्य देशहरूको आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबीसमेत गरेका छन्।

ट्रुथ साेसलमा ट्रम्पले लेखेका छन्ः

हर्मुज जलमार्ग भएर तेल बगिरहेको छ। विश्वका देशहरू, जसले हामीलाई कुनै पनि किसिमको मद्दत गरेका छैनन्, यो ढोँग (स्क्याम) समाप्त भएपछि संयुक्त राज्य अमेरिकालाई क्षतिपूर्ति दिनुपर्छ र दिनेछन्। हामी यो (मिहेनत) हाम्रै लागिभन्दा अरूका लागि धेरै गरिरहेका छौं, र पुस्ताौंदेखि गर्दै आएका छौं! –राष्ट्रपति डोनाल्ड जे. ट्रम्प