हेटौंडाबाट काठमाडौं आउँदै गरेको ईभी दुर्घटना, चार जनाको मृत्यु
हेटौंडाबाट काठमाडौंतर्फ छुटेको विद्युतीय गाडी इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने अन्य चार जनाको उद्धार गरिएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनाले सिंगो क्षेत्रलाई स्तब्ध बनाएको छ।
हेटौंडाबाट राजधानी काठमाडौंतर्फ यात्रु बोकेर आउँदै गरेको एक विद्युतीय गाडी सडकबाट अनियन्त्रित भई पाँच सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो। मंगलबार दिउँसो करिब दुई बजेको समयमा भएको यस दुर्घटनाले यातायात सुरक्षामाथि फेरि एकपटक गम्भीर प्रश्न उब्जाएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको उक्त गाडीमा चालकसहित कुल आठ जना सवार थिए। घटनास्थलमै चार जनाको प्राण गएपछि बाँकी चार जनाको जिवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूलाई काठमाडौंतर्फ लगिएको छ। दुर्घटनाको प्रकृति निकै भयानक रहेको र गाडी सडकबाट भिरको गहिराइमा पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धारकार्यमा खटिएको थियो। घाइतेहरूको अवस्था र मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप विवरण संकलन गर्ने काम भइरहेको छ भने यस दर्दनाक दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी नै छ।












