पेट्रोलको भाउ बढ्ने अनुमानले रातिसम्मै पम्पमा भिड
काठमाडौँ। नेपाल आयल निगमले भोलि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सक्ने अनुमानका आधारमा अहिले रातिसम्मै काठमाडौँका पेट्रोल पम्प हरूमा भिड लागेको छ।
इरान युद्ध विस्तार भएर लालसागरमा पुग्नु, साउदी अरबको पूर्व पश्चिम पेट्रोलियम पाइपलाइन पम्पिङ स्टेसनमा ड्रोन हमला हुनु र युक्रेनले रुसका डिजेल रिफाइनरीहरूमा आक्रमण गर्नु जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ।
यसको सिधा असर भारतीय बजारमा पनि परेको छ। पछिल्ला १५ दिनमा भारतको फ्युचर मार्केटमा कच्चा तेलको मूल्य करिब २० प्रतिशत महँगिएको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल १०८ अमेरिकी डलर भन्दा माथि पुगेको छ भने डब्ल्यूटीआई क्रुडको भाउ १०४ डलर भन्दा निकै माथि पुगेको छ।
यता ओपेक बास्केटको मूल्य प्रति ब्यारेल १२३ डलर भन्दा माथि र इन्डियन बास्केटको मूल्य प्रति ब्यारेल १२८ डलर भन्दा माथि पुगेको छ। सेप्टेम्बर १ मा ९५ डलर प्रति ब्यारल रहेको इन्डियन बास्केटको मूल्य अहिले १३० डलर नजिक पुग्दा लगभग ३६%को वृद्धि भएको देखिन्छ।
हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ। केही मूल्यसूचीका आधारमा नेपाल आयल निगमले नेपालभित्र बिक्री हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्छ।
यदि भारतको बास्केट प्राइसमा देखेको वृद्धिअनुसार नै नेपाललाई मूल्य दिइयो र हाम्रो आयल निगमले पनि पूरा मूल्य उपभोक्तामा हस्तान्तरण गर्यो भने पेट्रोलियम पदार्थको नयाँ मूल्य अहिलेभन्दा २५ देखि ३० प्रतिशत महँगो पर्न सक्ने देखिएको छ।
यस्तो अवस्थामा पेट्रोलको भाउ प्रति लिटर ५० रुपैयाँ महँगिन सक्छ। तर आयल निगमले यति फराकिलो मूल्य अन्तर गरेर भाउ नबढाउन सक्छ। यसका लागि निगमले थोरै भाउ बढाउने र थोरै घाटा बढाउने विकल्पमा जान सक्छ।
विगतमा देखिए जस्तै हरेक दुई वा तीन दिनको अन्तरालमा तारन्तार मूल्य वृद्धि पनि हुनसक्छ। यही जोखिम देखेर हुनसक्छ- आज रातिसम्म पनि काठमाडौँका पेट्रोल पम्पहरूमा पेट्रोल भर्नेको बाक्लो लाइन र चहलपहल देखिएको छ।
















