३१ भदौ २०८३, बुधबार

एक दिन पनि टिकेन सेयर बजारको उत्साह: नेप्से २१.१९ अङ्कले घट्यो, कारोबार ५.३८ अर्बमा सीमित



काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना घोषणा गरेसँगै देखिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन।

पुँजीगत लाभकर घटाइएको र नीतिगत लचकता अपनाइएको घोषणाले मङ्गलबार बजारमा हरियाली ल्याए पनि त्यसको भोलिपल्टै बुधबार लगानीकर्ताको मनोबल पुनः खस्किएको छ।

बुधबार सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से २१.१९ अङ्कले ओरालो लाग्दै २६ सय १२ दशमलव ४२ बिन्दुमा झरेको छ। सरकारले ल्याएको २१ बुँदे पुनरुत्थान कार्ययोजनाले लगानीकर्तामा दीर्घकालीन विश्वास जगाउन नसक्दा बजारमा पुनः गिरावट आएको छ।

परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। आज कारोबार रकम लगभग आधा घट्दै ५ अर्ब ३८ कराेड ९५ लाखमा सीमित भएको छ। आज ३५० कम्पनीका १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर खरिदबिक्री भएका छन्।

हिजाे ४८.५७ अंकले बढेकाे सेयर बजारमा कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियाे ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन जलविद्युत र जीवन बीमा समुहकाे उपसूचक १ प्रतिशत भन्दा बढी घटेका छन्।

आजकाे काराेबारमा २२५ कम्पनीकाे सेयर मूल्यमा गिरावट देखिएकाे छ भने १२ वटाकाे सेयर मूल्य स्थिर देखिएकाे छ। यस्तै ४२ कम्पनीकाे सेयर मूल्य मात्र बढेकाे छ।