आज विश्वकर्मा पूजा: कलकारखाना, सवारीसाधन र औजारको पूजाआराधना गरी मनाइँदै
काठमाडौँ । आज देशभर श्रद्धा र उल्लासका साथ भगवान विश्वकर्माको पूजा आराधना गरी ‘विश्वकर्मा पूजा’ मनाइँदैछ।
हरेक वर्ष सौरमानअनुसार कन्या संक्रान्तिको दिन (असोज १ गते) पर्ने यो पर्वमा वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान विश्वकर्माको जन्मजयन्ती स्वरूप घरघरमा विभिन्न पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ।
यस पर्वप्रति गहिरो आस्था र विश्वास राख्ने सर्वसाधारण, व्यवसायी तथा कालिगडहरूले आज आफ्ना निजी तथा सार्वजनिक सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, मेसिनरी औजार र हतियारहरूको विधिपूर्वक पूजा गरी विश्वकर्मा पूजा मनाउने गरेका छन्।
धार्मिक विश्वासअनुसार आजको दिन कालिगड तथा शिल्पीहरूले उपयोगमा ल्याउने विभिन्न औजार तथा उपकरणहरूको पूजा–आराधना गरेमा ती सामग्रीहरू धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र त्यसबाट उत्कृष्ट काम गर्न सकिने जनविश्वास रहिआएको छ। यस दिन विशेषगरी मजदुर, चालक तथा विभिन्न कलकारखानासँग आबद्ध व्यक्तिहरूले आफ्ना कार्यस्थलमा विभिन्न पूजापाठ र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गर्छन्।
यसैबीच, विश्वकर्मा पूजाको पूर्वतयारीस्वरूप केही हप्ता अघिदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भगवान विश्वकर्माका आकर्षक मूर्तिहरू निर्माण तथा साजसज्जा गर्ने क्रम तीव्र पारिएको थियो। आज बिहानैदेखि काठमाडौँका विभिन्न गरेज, कलकारखाना र उद्योगहरूमा विश्वकर्माको मूर्ति स्थापना गरी श्रद्धापूर्वक पूजा गर्नेहरूको चहलपहल बढेको छ।












