बाढीपीडितका लागि हिमालयन क्यापिटलद्वारा १० लाख १ हजार सहयोग
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले दिएको उक्त सहयोगमध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र १ लाख रुपैयाँ कम्पनीमा कार्यरत कर्मचारीको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो ।
हिमालयन बैंकको सहायक कम्पनीसमेत रहेको हिमालयन क्यापिटलले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना जनाएको छ। साथै बेपत्ता नागरिकको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै उद्धार तथा राहतमा खटिएका निकाय र स्वयंसेवकप्रति आभार तथा ऐक्यबद्धता व्यक्त गरेको छ।














