२ आश्विन २०८३, शुक्रबार

जेन्जी सांसदसँग प्रधानमन्त्रीको बैठक, युवापुस्ताका लागि देशमै अवसर सिर्जना गर्न आग्रह



काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदहरूलाई नयाँ सोच र सिर्जनात्मक पहलमार्फत युवापुस्ताका लागि नेपालमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित जेन्जी पुस्ताका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्।

उनले जनजीविकासँग जोडिएका आधारभूत समस्या समाधानमा सक्रिय हुन सांसदहरूलाई आग्रह गर्दै त्यससँगै युवालाई आत्मनिर्भर बनाउने दीर्घकालीन अभियानमा अघि बढ्नुपर्ने बताए। छलफलका क्रममा प्रधानमन्त्री शाहले स्थलगत अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले सूचना प्रविधिको प्रभावकारी प्रयोग, समस्या समाधानमा केन्द्रित कार्यशैली र समयअनुकूल सोच विकास गर्न सुझाव दिएका थिए। पुराना तथा व्यवहारमा उपयोगी नदेखिएका सोच र कार्यशैलीलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले राजनीतिलाई मात्र आयआर्जनको माध्यम नबनाई सांसदहरूले आफ्नो छुट्टै व्यावसायिक तथा आर्थिक आधार निर्माण गर्नुपर्ने सुझावसमेत दिए।

दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै अरूका लागि समेत उदाहरण र प्रेरणाको स्रोत बन्नुपर्नेमा उनले जोड दिए। छलफलमा सहभागी जेन्जी पुस्ताका सांसदहरूले प्रधानमन्त्री शाहका सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताएका छन्।

उनीहरूले आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउँदै नेपालमै रोजगारी र नयाँ अवसर सिर्जना गर्ने अभियानमा सक्रिय हुने प्रतिबद्धता पनि व्यक्त गरे।

‘उमेर’को मापदण्डमाथि सांसद बानुको असन्तुष्टि

प्रधानमन्त्री शाहले जेन्जी उमेर समूहका सांसदहरूसँग मात्र छलफल गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले भने असन्तुष्टि जनाएकी छन्।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेकी छन्, ‘जेन्जीका माग मुद्दा सम्बोधन गर्नका लागि जेनजी उमेर समूहका सांसदहरू चाहिने हो कि पहिलेदेखि नै निरन्तर जेन्जीका माग मुद्दा बोकेका सांसदहरूसँग बैठक बस्नुपर्ने हो प्रधानमन्त्री ज्यू ?’

जेन्जी आन्दोलनबाट उदाएकी सांसद बानुले जेन्जी उमेर समूहका सांसदसँगै सुरुदेखि नै जेन्जीका माग तथा मुद्दा उठाउँदै आएका सांसदहरूसँग पनि छलफल गर्नुपर्ने धारणा राखेकी छन्।