२ आश्विन २०८३, शुक्रबार

चाडपर्वको मुखैमा बढ्यो महँगी: साउनमै मूल्यवृद्धि करिब ६ प्रतिशत, तरकारीदेखि मदिरासम्म सबै महँगिए



काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १.६८ प्रतिशत मात्र रहेको मूल्यवृद्धि दर साउनमा उल्लेख्य रूपमा बढेको छ। यसअघि २०८३ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.७७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.५२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९५ प्रतिशत रहेको थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत समीक्षा अवधिमा घ्यू तथा तेल उप-समूहको मूल्य सूचकाङ्क १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ।

यसैगरी, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य सूचकाङ्क १३.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९३ प्रतिशतले बढेको छ।

भौगोलिक क्षेत्रका आधारमा समीक्षा अवधिमा ग्रामीण क्षेत्रको मूल्यवृद्धि ६.१८ प्रतिशत र सहरी क्षेत्रको मूल्यवृद्धि ५.८८ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत मूल्यवृद्धि दर्ज भएको छ।

त्यस्तै, काठमाडौँ उपत्यकामा ४.८१ प्रतिशत, तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत र हिमालमा ५.१० प्रतिशत मूल्यवृद्धि रहेको छ।

२०८३ साउन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.३७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १३.६२ प्रतिशत र ६.४५ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीकोवार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.८९ प्रतिशतले बढेको छ ।