३ आश्विन २०८३, शनिबार

संविधान जारी भएको ११ वर्ष पूरा : आज देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै



काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

संविधान दिवसका अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत राज्यका उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहनेछ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। यसै दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

यस्तै प्रदेश सरकार, स्थानीय तह, विभिन्न राजनीतिक दल, नागरिक समाज तथा संघ–संस्थाहरूले पनि अन्तरक्रिया, प्रभातफेरी तथा रचनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्।

नेपालको संविधान (२०७२) जारी भएको आज ११ वर्ष पूरा भएको छ। यस संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धि र विकासको मार्गमा अघि बढाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्।