बर्दियामा चल्दाचल्दैको विद्युतीय बस जलेर नष्ट, कागजात र नगदसहित लाखौँको क्षति
महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको रम्मापुरमा यात्रु बोक्ने विद्युतीय मिनिबसमा अचानक आगो लाग्दा कागजात र नगद जलेर नष्ट भए पनि समयमै उद्धार हुँदा मानवीय क्षति हुन पाएन।
काठमाडाैँ ।महेन्द्र राजमार्गमा गुडिरहेको एक विद्युतीय मिनिबसमा अचानक आगलागी भएको छ। कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको उक्त सार्वजनिक ईभी बसमा आइतबार बिहान अनपेक्षित रूपमा आगो सल्किएको हो।
बिहान करिब ६ बजेर ५० मिनेटको समयमा घटना घटेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गुडिरहेको अवस्थामा गाडीबाट धुवाँ र आगो निस्कन थालेपछि स्थानीय क्षेत्रमा केहीबेर त्रास उत्पन्न भएको थियो।
बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरमा याे घटना भएकाे हाे ।
घटनाको विवरण अनुसार बसमा त्यसबेला चालक र सहचालक मात्र सवार थिए। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ निवासी ३८ वर्षीय नरेन्द्र नेगीले उक्त बस हाँकेका थिए। आगलागीको खबर पाउनासाथ सतर्कता अपनाइएका कारण चालक र सहचालक सकुशल बाहिर निस्कन सफल भएका छन्।
मानवीय क्षति नभए पनि गाडीभित्र रहेका महत्त्वपूर्ण कागजातहरू र व्यवसायिक प्रयोजनका लागि राखिएको ४२ हजार रुपैयाँ नगद पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली तत्कालै घटनास्थलमा खटिएको थियो। ठाकुरबाबा नगरपालिकाबाट आएको दमकल र स्थानीयहरूको प्रयासले बिहान ८ बजेसम्ममा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइयो।
आगलागीका कारण महेन्द्र राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भने भएन। प्रहरीले विद्युतीय बसमा अचानक किन र कसरी आगो लाग्यो भन्ने विषयमा गहिरो अनुसन्धान अगाडि बढाइएको जनाएको छ।














