एक वर्षमा विश्वभर ७००० ‘ह्युमनाेइड रोबोट’ बिक्री: अर्बौँ डलर लगानी र तीव्र चर्चाबीच किन बढ्न सकेन व्यापार?
काठमाडाैं । सन् २०२५ काे एक वर्षमा विश्वभर औद्योगिक र व्यावसायिक सेवाका लागि करिब ७,००० वटा मानिस जस्तै देखिने ‘ह्युमनाेइड रोबोट’ बिक्री भएका छन्।
इन्टरनेसनल फेडेरेसन अफ रोबोटिक्स (आईएफआर) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्बौँ डलरको लगानी र तीव्र चर्चाका बाबजुद हाल रोबोटिक्स बजारमा ह्युमनाेइडको उपस्थिति निकै सानो हिस्सामा सीमित छ।
आईएफआरको मापदण्ड अनुसार मानिस जस्तै स्वरूप भएको र मानिसका लागि बनाइएको वातावरणमा स्वायत्त रूपमा काम गर्न सक्ने रोबोटलाई ‘ह्युमनोइड’ मानिन्छ।
संस्थाकी महासचिव सुसेन बिएलरका अनुसार गत वर्ष बिक्री भएका धेरैजसो ह्युमनाेइड रोबोटहरूले प्रत्यक्ष उत्पादनमूलक काम नगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलहरू सुधार गर्न आवश्यक तथ्याङ्क सङ्कलनका लागि अनुसन्धान संस्था र कम्पनीहरूले प्रयोग गरिरहेका छन्।
अटोमोबाइल क्षेत्रका अग्रणी कम्पनीहरूले भने आफ्ना प्लान्टहरूमा परीक्षणका रूपमा सानो सङ्ख्यामा यस्ता रोबोटहरू परिचालन गरिरहेका छन्।
हाल विश्वभर सञ्चालनमा रहेका कुल ४६ लाख ६४ हजारभन्दा बढी औद्योगिक रोबोटको तुलनामा ह्युमनाइड रोबोटको सङ्ख्या नगण्य छ। सन् २०२४ मा मात्रै ५ लाख ४२ हजारभन्दा बढी परम्परागत औद्योगिक रोबोट र करिब १ लाख ९९ हजार व्यावसायिक सेवा रोबोटहरू जडान गरिएका थिए।
आईएफआर ले तीन दशकको इतिहासमा पहिलोपटक ह्युमनाइड रोबोटको तथ्याङ्क छुट्टै सङ्कलन गर्न थालेको हो।
वर्तमान बिक्री सङ्ख्या सुस्त देखिए पनि आगामी दिनहरूमा ह्युमनोइड रोबोटको बजारमा ठूलो उछाल आउने अनुमान गरिएको छ। बैंक अफ अमेरिका ग्लोबल रिसर्चको प्रक्षेपण अनुसार यस वर्ष (सन् २०२६) ९० हजार ह्युमनोइड रोबोट आपूर्ति हुनेछन्।
यो क्रम बढेर सन् २०२७ मा २ लाख ५० हजार, सन् २०२८ मा ५ लाख, सन् २०२९ मा ८ लाख हुँदै सन् २०३० सम्ममा वार्षिक १२ लाख पुग्ने अनुमान छ।
ह्युमनाेइड रोबोटको आपूर्तिमा सबैभन्दा ठूलो हिस्सा भने चिनियाँ कम्पनीहरूले ओगट्ने देखिएको छ।














