५ आश्विन २०८३, सोमबार

कर्जा विस्तारको सुस्त गतिले अधिक तरलता कायमै, बैंकिङ प्रणालीमा थपियो ८५ अर्ब



काठमाडौँ। अधिक तरलताका कारण बैंकिङ प्रणालीमा चाप रहेका बेला चालु आर्थिक वर्षमा पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम रोकिएको छैन। चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती २ महिनामा बैंकिङ प्रणालीमा निक्षेप संकलन निरन्तर बढ्दै गएपछि वित्तीय प्रणालीमा तरलता व्यवस्थापनमा चुनौती कायमै रहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाहको गति भने सुस्त छ।

नेपाल बैंकर्स संघ (एनबीए)ले सार्वजनिक गरेको असोज २ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूमा कुल निक्षेप ७५ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। जसमा ७३ खर्ब २९ अर्ब रुपैयाँ स्वदेशी मुद्रा र २ खर्ब ५५ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप रहेको छ।

असार मसान्तको तुलनामा असोज पहिलो सातासम्म आइपुग्दा वाणिज्य बैंकहरूको कुल निक्षेप ८५ अर्ब रुपैयाँ (+१.१४%) ले बढेको छ। असार मसान्तमा कुल निक्षेप ७४ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा साउनमा २२ अर्ब रुपैयाँले घटेर ७४ खर्ब ७७ अर्बमा झरेको थियो तर, भदौ महिनामा ९७ अर्ब रुपैयाँले बढेको हो।

अधिक तरलता कायमै

यसैबीच कर्जा प्रवाहमा केही सुधार देखिए पनि यो निक्षेप वृद्धिको तुलनामा सुस्त छ। असोज २ गतेसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तको (५२ खर्ब ९० अर्बको) तुलनामा कर्जा ६५ अर्ब रुपैयाँ (+१.२२%) ले बढेको हो।

असोज २ गतेसम्म आइपुग्दा बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात ७०.५८ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूलाई ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर कर्जा विस्तार गर्ने छुट दिएको छ। यस आधारमा हेर्दा बैंकहरूसँग अझै पनि लगानीयोग्य रकम (तरलता) प्रचुर मात्रामा उपलब्ध रहेको देखिन्छ।

हाल बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेको भएपनि नजिकिँदै गरेका ठूला चाडपर्व (दसैँ-तिहार) का कारण बजारमा उपभोग्य माग बढ्ने र चाडपर्वलक्षित आयात तथा व्यापारिक गतिविधि सक्रिय हुने भएकाले आगामी दिनमा कर्जाको माग केही बढ्न सक्ने बैंकरहरूको अनुमान छ।